मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

कानून पेशा मात्रै धनको स्रोत हुन सक्दैन, अन्य आर्थिक उपार्जनका उपाय पनि खोजौँः वरिष्ठ अधिवक्ता भण्डारी

Author Image
शुक्रवार, चैत ६, २०८२

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले कानून व्यवसायीहरूलाई पेशागत मर्यादा जोगाउन र आर्थिक रूपमा सबल बन्न वैकल्पिक आयका स्रोतहरू खोज्न सुझाव दिनुभएको छ । 
लामो समयदेखि कानून पेसामा आवद्ध भण्डारीले हालको समयमा कानून पेशा मात्रै जीवनयापन र धन आर्जनको भरपर्दो माध्यम हुन नसक्ने बताउनुभएको हो । 

आफ्नो लामो व्यावसायिक यात्राको स्मरण गर्दै भण्डारीले आफूलाई ‘अभागी भए पनि सौभाग्यशाली’ महशुस गरेको बताउनु भयो । उहाँले आफ्ना आज्ञा पालना गर्ने र सल्लाह मान्नेहरू देशको ठूला मन्त्रीदेखि पहिलो महिला प्रधानन्यायाधीशसम्म भएकोमा गर्व व्यक्त गर्नुभयो । सुशीला कार्की प्रधानन्यायाधीश भएको क्षणलाई उहाँले आफ्नो जीवनको एक महत्वपूर्ण र खुशीको उपलब्धिका रूपमा चित्रण गर्नुभयो । 


उहाँले भन्नुभयो, ‘हामी यो पेशाले मात्रै धन पाउन सक्दैनौँ । यो पेशा अहिले ठगीको पेशा भइसक्या छ । हाम्रो अन्य बाटो पनि पाउनुपर्छ । अर्थ साधन हो, बिना अर्थ केही हुँदैन ।’ 
कानून पेशाको साथसाथै अन्य आर्थिक गतिविधिमा संलग्न भई आत्मनिर्भर बन्नुपर्नेमा उहाँको जोड छ । पेशालाई ‘ठगी’ को आरोपबाट बचाउन र निष्ठा कायम राख्न आर्थिक अभाव हुन नहुने उहाँको तर्क छ ।