
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका गणेश नेपालीकी श्रीमती एकमाया नेपाली ले आइतबार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन्। उनलाई जिल्ला प्रशासन कार्यालयमा गृहमन्त्री सुधन गुरुङ ले नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।
परिवारका अनुसार चार वर्षअघि विवाह भए पनि विवाह दर्ता र नागरिकता नबनेको अवस्थामा श्रीमान्को निधनपछि विवाह दर्ता गरी नागरिकता जारी गरिएको हो।
यसैबीच, गणेश नेपालीको घटनालाई लिएर नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ। सहमतिअनुसार घटनाको छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा स्वतन्त्र समिति गठन गरिने, गणेशलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने तथा घटनाका बेला खटिएका नगर प्रहरीलाई छानबिन प्रतिवेदन नआएसम्म निलम्बन गर्ने व्यवस्था गरिएको छ।
यस्तै, गणेशकी श्रीमतीलाई योग्यताअनुसार रोजगारी उपलब्ध गराउने, उनकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्ने, आश्रित परिवारलाई राहत उपलब्ध गराउने तथा अन्त्येष्टि र काजकिरियाको सम्पूर्ण खर्च महानगरपालिकाले बेहोर्ने सहमति भएको छ।
सहमतिपछि परिवारले गणेश नेपालीको शव बुझ्न सहमति जनाएको छ। शुक्रबार उपचारका क्रममा उनको निधन भएको थियो।
यस्तो छ सहमतिको पूर्ण पाठ –


