
प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बीच आइतबार करिब चार घण्टा लामो भेटवार्ता भएको छ।
बुढानीलकण्ठस्थित लामिछाने निवासमा भएको भेटमा सुकुम्बासी व्यवस्थापन, गणेश नेपालीको आत्मदाह, सरकारको कार्यशैली, जेनजी आन्दोलनका घाइतेको उपचार तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जनाएको छ।
भेटका क्रममा लामिछानेले प्रधानमन्त्रीलाई सुकुम्बासीको समस्या संवेदनशील रूपमा समाधान गर्न आग्रह गर्दै “मान्छेहरू रोए ठीक भएन, गरिबलाई रुवाएर हुँदैन। उनीहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्नेभन्दा पनि राज्यले उचित व्यवस्थापन गरेर विश्वास दिलाउनुपर्छ,” भन्ने सुझाव दिएका थिए।
प्रधानमन्त्री शाहले भने सरकारले सुकुम्बासी व्यवस्थापनका लागि काम गरिरहेको र समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरेका थिए।
गणेश नेपालीको आत्मदाह घटनाबारे पनि दुई नेताबीच छलफल भएको थियो। लामिछानेले उक्त घटनालाई दुःखद र अप्रत्याशित भन्दै पीडित परिवारले राज्यको साथ महसुस गर्नुपर्ने धारणा राखेका थिए। साथै, उनले घटनाको सम्पूर्ण जिम्मेवारी महानगर वा केन्द्र सरकारमध्ये कुनै एकलाई मात्र दिन नहुने उल्लेख गरेका थिए।
भेटमा जेनजी आन्दोलनका घाइतेहरूको उपचार, सरकारको पहिलो सय दिनको काम, संसदको प्रभावकारिता तथा छिमेकी मुलुकसँगको सम्बन्धबारे पनि संक्षिप्त छलफल भएको स्रोतले जनाएको छ।
