भूटानी शरणार्थीका पूर्व प्रतिनिधिबाट प्रधानमन्त्रीलाई बधाई तथा अपेक्षा व्यक्त काठमाडौं — क्यानडामा बसोबास गर्दै आएका भूटानी शरणार्थीका पूर्व प्रतिनिधि भानु ढुंगानाले नेपालका प्रधानमन्त्री Balen Shah लाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। ढुंगानाले हालै जारी गरेको शुभकामना सन्देशमा प्रधानमन्त्रीको नेतृत्वमा नेपाल विकास र समृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्। उनले शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्याय तथा पूर्वाधार विकासका क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न सरकार सफल हुने अपेक्षा समेत राखेका छन्।

उनले देशमा व्याप्त भ्रष्टाचार, कुशासन र कानुनी जटिलताको अन्त्य गर्दै समुन्नत राष्ट्र निर्माणमा सरकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका छन्। साथै, भूटानबाट विस्थापित भई नेपालमा बसोबास गरिरहेका शरणार्थीहरूको अवस्थाबारे पनि ध्यानाकर्षण गराइएको छ। ढुंगानाले मोरङ र झापा जिल्लामा अझै पनि करिब ६–७ हजार भूटानी शरणार्थीहरू कष्टपूर्ण जीवन बिताइरहेको उल्लेख गर्दै उनीहरूको घर फिर्तीका लागि कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेका छन्। तेस्रो देश पुनःस्थापनापछि विभिन्न मुलुकमा पुगेका भूटानी शरणार्थीहरूले नेपालप्रति सद्भाव र भाइचाराको भावना कायम राखेको पनि सन्देशमा उल्लेख गरिएको छ। समाप्तिमा, ढुंगानाले प्रधानमन्त्रीको कार्यकाल सफल रहोस् भन्ने कामना गर्दै देश र जनताको हितमा प्रभावकारी काम हुने विश्वास व्यक्त गरेका छन्।
