प्रसिद्ध भारतीय पार्श्वगायिका आशा भोस्ले अब हामीबीच रहिनन्। ९२ वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

केही समयदेखि अस्वस्थ रहँदै आएकी भोस्लेलाई मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या बढेपछि शनिबार अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो। उपचारकै क्रममा आइतबार उनको निधन भएको पुष्टि उनका छोरा आनन्दले गरेका छन्।
भारतीय संगीत उद्योगमा दशकौँसम्म आफ्नो जादुमयी स्वरले राज गरेकी भोस्लेलाई सबैभन्दा बहुआयामिक र प्रतिष्ठित पार्श्वगायिकामध्ये एक मानिन्छ। उनले हिन्दी चलचित्र संगीतमा मात्र होइन, विभिन्न भाषाका हजारौँ गीतमा स्वर दिँदै संगीतलाई नयाँ उचाइमा पुर्याएकी थिइन्।
उनको स्वरमा मिठास, ऊर्जा र भावनाको अद्भुत समिश्रण पाइन्थ्यो, जसले हरेक पुस्तालाई समान रूपमा आकर्षित गर्यो। रोमान्टिक गीतदेखि लोकलय, गजलदेखि आधुनिक धुनसम्म हरेक शैलीमा उनले आफ्नो अलग पहिचान स्थापित गरिन्।
नेपाली संगीतमा समेत उनको योगदान उल्लेखनीय छ। उनले स्वर दिएका ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘गैरीखेतको शिरै हान्यो’ र ‘मोहनी लाग्ला है’ जस्ता गीत आज पनि उत्तिकै लोकप्रिय र कालजयी छन्।
संगीतप्रेमीहरूका लागि भोस्लेको निधन केवल एक कलाकारको बिदाइ मात्र होइन, एक युगको अन्त्य हो। उनका गीतहरू सधैं श्रोताको मनमा जीवित रहनेछन्।
उनको अन्तिम संस्कार सोमबार गरिने जनाइएको छ।
