
नेपाली चलचित्रका अनुभवी र भावनाका कुशल कथाकार तुलसी घिमिरे ९ वर्षपछि पुनः ठूलो पर्दामा फर्किएका छन्। ७४ वर्षको उमेरमा उनले निर्देशन गरेको नयाँ फिल्म ‘पहाड’ मंगलबारदेखि प्रदर्शनमा आउँदैछ, जसले पहाडको मर्म, पलायनको पीडा र समाजको यथार्थलाई गहिराइमा उतार्ने प्रयास गरेको छ।
‘कुसुमे रूमाल’, ‘लाहुरे’, ‘चिनो’, ‘बलिदान’, ‘देउता’ र ‘दर्पण छायाँ’ जस्ता कालजयी फिल्मका सर्जक घिमिरे यसपटक ‘पहाड’ मार्फत गाउँ रित्तिँदै गएको यथार्थलाई मार्मिक ढंगले प्रस्तुत गर्दैछन्। उनका अनुसार पलायन नयाँ विषय होइन, तर अहिले यसले डरलाग्दो रूप लिएको छ।
मुना मदन को उदाहरण दिँदै घिमिरे भन्छन्-“पहिले विदेश जानेहरू फर्किन्थे, अहिले स्थायी बसाइँ सर्ने प्रवृत्ति बढ्यो, जसले गाउँहरू सुनसान बनाइरहेको छ।”
लोकेसन खोज्ने क्रममा उनले देखेका दृश्यहरू अझै मनमा ताजा छन्- राम्रा घरहरू छन्, तर मान्छे छैनन्। मलामीमा पनि पुरुषभन्दा महिलाको उपस्थिति बढी देख्दा उनी भित्रैसम्म हल्लिएका थिए।
‘पहाड’ केवल नेपालको कथा नभई दार्जिलिङ, कालिम्पोङ, आसामदेखि गढवालसम्मका पहाडी भेगको साझा पीडा भएको उनको बुझाइ छ।

फिल्ममा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, प्रियंका कार्की लगायतका कलाकारहरूको अभिनय छ भने उनकी छोरी पञ्चमी घिमिरेले यही फिल्मबाट अभिनय यात्रा सुरु गरेकी छन्।
विशेष कुरा के भने- यो फिल्ममा घिमिरेका पुराना सहकर्मीहरूसँग पुनर्मिलन मात्र होइन, परिवारकै सक्रिय सहभागिता पनि छ, जसले ‘पहाड’लाई अझ भावनात्मक बनाएको छ।
प्रविधिको तीव्र विकाससँगै केही समय ‘लर्निङ फेज’ मा रहेका घिमिरे अहिले डिजिटल युगसँगै आफूलाई ढालेर नयाँ ऊर्जा सहित फर्किएका छन्। उनी भन्छन्- “नयाँ पुस्ताको सोच र हाम्रो अनुभव मिसिँदा अझ राम्रो सिर्जना सम्भव हुन्छ।”
‘पहाड’ उनका लागि केवल फिल्म होइन, भावना, अनुभव र समयको दस्तावेज हो । र, यसपटक उनी दर्शकको मन जित्नेमा ढुक्क देखिन्छन्।
