मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

२०८२ : राजनीतिक ‘सुनामी’को वर्ष

Author Image
सोमवार, चैत ३०, २०८२

काठमाडौँ । राजनीतिक दृष्टिले वर्ष २०८२ नेपालका लागि असाधारण उतार चढाव, संघर्ष र पुनर्संरचनाको वर्ष बन्यो। वर्षको सुरुवातदेखि अन्त्यसम्म सत्ता, सडक र संरचनामा देखिएको तीव्र हलचलले मुलुकको राजनीतिक दिशा नै फेरिदियो। तर, वर्षको अन्त्यतिर भने जनताको नयाँ जनादेशसहित शान्ति, स्थायित्व र समृद्धितर्फ स्पष्ट मार्गनिर्देश प्राप्त भएको देखिन्छ।

वर्षको मध्यतिर ‘जेनजी’ पुस्ताको विद्रोहपूर्ण आन्दोलनले परम्परागत राजनीतिक मार्गलाई चुनौती दिँदै नयाँ मोड सिर्जना गर्‍यो। यही आन्दोलनको दबाबमा तत्कालीन सरकार विस्थापित भयो, प्रतिनिधिसभा विघटन गरियो र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन भयो। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले मुलुकलाई नयाँ राजनीतिक युगतर्फ धकेल्यो।

निर्वाचनमा पुराना सत्तासिन दलहरू पराजित भए भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुईतिहाइ बहुमतसहित ऐतिहासिक जित हासिल गर्‍यो। नेपालको संविधान, २०७२ जारी भएपछिको इतिहासमा पहिलोपटक कुनै एक दलले स्पष्ट बहुमत ल्याउँदै गठबन्धन राजनीति अन्त्यतर्फ धकेलिएको संकेत देखियो।

निर्वाचनपछि रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्‍यो। चैत १३ गते संविधानको धारा ७६(१) अनुसार प्रधानमन्त्री बनेका शाह नेतृत्वको सरकार समावेशी, युवा केन्द्रित र सानो आकारको देखिएको छ। सरकारले सुरुवातदेखि नै १०० कार्यसूचीमार्फत शासकीय सुधारको स्पष्ट संकेत दिएको छ।

प्रधानमन्त्री शाहले कूटनीतिक भेटघाटमा समेत नयाँ शैली अपनाउँदै व्यक्तिगत भेटभन्दा सामूहिक संवादलाई प्राथमिकता दिएका छन्। यसले राज्य संयन्त्रमा प्रणालीगत सुधारको संकेत गरेको विश्लेषण भइरहेको छ।

उता, परम्परागत दलहरू भने वर्षको अन्त्यसम्म आइपुग्दा कमजोर बन्दै गएका छन्। नेपाली कांग्रेसभित्र गगनकुमार थापाको नेतृत्वमा नयाँ शक्ति उदाएको छ भने शेरबहादुर देउवा पक्ष असन्तुष्ट देखिएको छ। एमालेमा केपी शर्मा ओली पुनः नेतृत्वमा आए पनि पुस्तान्तरणको बहस तीव्र बनेको छ। माओवादी केन्द्रभित्र पनि नेतृत्व र नीतिमाथि प्रश्न उठ्दै विभाजनको संकेत देखिएको छ।

भदौ २३/२४ को ‘जेनजी’ आन्दोलन वर्षकै सबैभन्दा दुःखद र निर्णायक घटना बन्यो। आन्दोलन हिंसात्मक बन्दा ७६ जनाले ज्यान गुमाए, ४५ जनालाई ‘जेनजी सुशासन योद्धा’ घोषणा गरियो। सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतजस्ता महत्वपूर्ण संरचनामा क्षति पुग्दा करिब ७६ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको सरकारी तथ्यांक छ।

यसैबीच, नवगठित सरकारले आन्दोलनको छानबिन गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको विषय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चित बन्यो।

वर्ष २०८२ मा ‘सगरमाथा संवाद’ जस्ता अन्तर्राष्ट्रिय कार्यक्रमले नेपाललाई जलवायु परिवर्तनको विश्वव्यापी बहसमा केन्द्रमा ल्यायो। साथै, निजामती सेवा विधेयक, भिजिट भिसा प्रकरण, र प्रशासनिक सुधारका प्रयासहरू पनि वर्षभरि चर्चामा रहे।

राजनीतिक विश्लेषकहरूका अनुसार २०८२ ले पुराना संरचना भत्काउँदै नयाँ शक्तिको उदय गराएको वर्षका रूपमा इतिहासमा स्थान बनाउनेछ। सुधार, संघर्ष र पुनर्निर्माणको मिश्रण बनेको यो वर्षलाई धेरैले ‘राजनीतिक सुनामी’ को संज्ञा दिएका छन्।

वर्ष २०८२ मा राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रका मुख्य घटनाक्रम-

वैशाख १३- पूर्वस्वास्थ्य राज्यमन्त्री एवं नेपाली कांग्रेस काठमाडौंका पूर्वसभापति तीर्थराम डंगोलको ७७ वर्षको उमेरमा निधन।

वैशाख १७- पेसागत माग राखेर २९ दिनदेखि राजधानीकेन्द्रित सडक आन्दोलनमा उत्रेका शिक्षक तथा कर्मचारी र सरकारबीच नौ बुँदे सहमति।

वैशाख २३- वामपन्थी नेता प्रदीप नेपालको ७१ वर्षको उमेरमा निधन।
जेठ ३- सगरमाथा संवाद सम्पन्न, २५ बुँदे घोषणा।

जेठ ६- नेपाल राष्ट्र बैंकको गर्भनरमा डा विश्व पौडेल नियुक्त।

जेठ ७- भिजिट भिसामा मानव तस्करी गरेको आरोपमा अध्यागमनका सहसचिव तीर्थराज भट्टराई प्रहरी नियन्त्रणमा।

जेठ १३- पर्वतारोही कामिरिता शेर्पाद्वारा ३१औं पटक सगरमाथाको आरोहण गरी आफ्नै कीर्तिमानी भंग।

जेठ १५- सरकारद्वारा आर्थिक वर्ष २०८२÷८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत।

असार १- नेपाल विद्युत् प्राधिकरणद्वारा बङ्गलादेश विद्युत् निर्यात सुरु।

असार २- पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डीराज शास्त्रीको ९० वर्षको उमेरमा निधन।

असार ५- दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि।

असार १०- सरकारद्वारा भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन।

असार १५- निजामती विधेयक प्रतिनिधिसभाबाट पारित।

असार २४- नेपाल–चीन सीमानाका भएर बग्ने रसुवाको ल्हेन्देखोलामा अकस्मात् आएको बाढीमा परी नौ जनाको मृत्यु, १९ बेपत्ता।

साउन ९- नेपाल सरकारद्वारा इरानको जेलमा थुनामा रहेका ४७ जना नेपाली महिलाको सकुशल उद्धार।

भदौ २३- काठमाडौंमा जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु। प्रदर्शन हिंसात्मक भई ठूलो संख्यामा युवाको ज्यान गएपछि नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकद्वारा पदबाट राजीनामा।

भदौ २४- प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वारा सामूहिक राजीनामाको घोषणा।

भदौ २५- ११ हजार ५०५ कैदी जेल फोडेर फरार।

भदौ २७- राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त। प्रधानमन्त्रीको शपथग्रहणलगत्तै प्रतिनिधिसभा विघटनको सिफारिस। आठ राजनीतिक दलद्वारा प्रतिनिधिसभा विघटनप्रति असहमति।

भदौ ३०- सरकारद्वारा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने व्यक्तिलाई सहिद घोषणा तथा सहिद परिवारलाई १५ लाख रुपैयाँका दरले क्षतिपूर्ति उपलब्ध गराउने निर्णय।

असोज ५- सरकारद्वारा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन।

असोज ८- पुनर्निर्माण र निर्वाचनमा सरकारको ध्यान, सरकारी खर्चमा व्यापक कटौती गर्ने निर्णय।

असोज १०- राष्ट्रिय मानवअधिकार आयोगद्वारा भदौ २३ र २४ गतेको जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएको घटनाको अनुगमन प्रतिवेदन सार्वजनिक। सरकारद्वारा सेवानिवृत्त भइसकेका पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुनमा उल्लेख भएका स्वीकृत मापदण्डबमोजिमबाहेकका सुविधा कटौती।

असोज १२- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका सन्दर्भमा जाँचबुझ एवं अध्ययन गर्न गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगद्वारा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनालाई विदेश भ्रमणमा रोक लगाउन पत्राचार।

असोज २१- सरकारद्वारा असोज १७ देखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय।

असोज २८- पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई प्रदान।

कात्तिक १- जिल्ला प्रशासन काठमाडौँद्वारा विभिन्न स्थानमा दुई महिनासम्म भेला, प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध घोषणा।

कात्तिक १२- प्रतिनिधिसभा विघटन र सरकारविरुद्ध रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतद्वारा अस्वीकार।

कात्तिक १७- सरकारद्वारा जेनजी आन्दोलनका क्रममा काठमाडौँसहित विभिन्न जिल्लामा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा।

कात्तिक १९- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सहित १० वाम पार्टीबीच एकता घोषणा।

मंसिर ४- राष्ट्रिय सुरक्षा परिषद् बैठकले आगामी फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस।

मङ्सिर २५- मन्त्रिपरिषद्बाट सरकार–जेनजी सम्झौता अनुमोदन, प्रधानमन्त्री र जेनजी प्रतिनिधिबीच भएको १० बुँदे सम्झौता राजपत्रमा प्रकाशित गर्ने निर्णय।

मङ्सिर २९- सरकारद्वारा फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सुनिश्चित गर्न विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन।

पुस ३- नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ अधिवेशनबाट अध्यक्ष पदमा पुन- केपी शर्मा ओली निर्वाचित।

पुस १३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र (बालेन) शाहबीच सात बुँदे सहमति।

पुस १७- नेपाली कांगे्रसको १५औँ अधिवेशन स्थगित।

पुस १८- नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पदावधि २०८३ जेठ मसान्तसम्म थप्दै १५औँ महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णय।

पुस २०- भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बयान।

पुस २६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता भएको १२ दिनमै छुट्टिएर पूर्वमन्त्री कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्षको जिम्मेवारीमा।

पुस २७- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन प्रारभ्म।

माघ २- निर्वाचन आयोगद्वारा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिकता र आधिकारिक मान्यता प्रदान।

माघ ४- नेपाली कांग्रेसको आन्तरिक विवाद अदालतमा प्रवेश।

फागुन २१- मुलुकभर एकैसाथ शान्तिपूर्ण रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न।

चैत ११- राष्ट्रपतिसमक्ष प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रूपमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीको शपथ।

चैत १२- प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीसमक्ष सांसदहरूको शपथ।

चैत १३ – राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता वालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त, १५ सदस्यीय मन्त्रिमण्डल गठन।

चैत १४- तत्कालीन पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा।

चैत २२- प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित।

चैत २६- पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिर जमानीमा छाड्न अदालतको आदेश।

चैत २७- राष्ट्रपति रामचन्द्र पौडेलबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन।

निष्कर्ष:
वर्ष २०८२ ले नेपाललाई राजनीतिक रूपान्तरणको नयाँ मोडमा ल्याएको छ। जनआन्दोलन, सत्ता परिवर्तन र नयाँ नेतृत्वको उदयले आगामी वर्षहरूका लागि नयाँ आशा र चुनौती दुवै छोडेको छ।