मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

क्युबामाथि सनसनी आरोप: रूसका लागि ५ हजार लडाकू पठाएको दाबी

Author Image
बुधवार, वैशाख २, २०८३

रूसको पक्षमा युक्रेन युद्ध लड्न क्युबाले पाँच हजारसम्म लडाकू पठाएको अमेरिकाले दाबी गरेको छ। डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी संसदलाई दिएको जानकारीअनुसार क्युबाले रूसलाई कूटनीतिक र राजनीतिक समर्थन मात्रै नभई युद्धमैदानमा लडाकूसमेत उपलब्ध गराएको उल्लेख गरिएको छ।

क्युबाले आधिकारिक रूपमा यो आरोप स्वीकार गरेको छैन। तर अमेरिकी पक्षले कम्युनिस्ट सरकारले जानाजानी त्यसलाई सहजीकरण गरेको दाबी गरेको छ। अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदन उद्धृत गर्दै एक्सियस अनलाइनले युक्रेनमा रुसी सैन्य कारबाहीलाई समर्थन गर्ने विदेशी लडाकूहरूमध्ये क्युबाली नागरिक ठूलो समूहका रूपमा देखिएको जनाएको छ।

यसअघि उत्तर कोरियाले पनि रूसका लागि हजारौं सैनिक पठाएको खुलासा भएको थियो। अब क्युबामाथि पनि यस्तै आरोप लागेपछि अन्तर्राष्ट्रिय राजनीति थप तातिएको छ।

उता ट्रम्प प्रशासन क्युबामाथि दबाब बढाउने रणनीतिमा देखिएको छ। जनवरीमा अमेरिकाले भेनेजुएलाबाट क्युबा जाने तेल ढुवानी रोकेको थियो। फेब्रुअरीमा इरानसँग युद्ध सुरु भएपछि केही समय ध्यान मोडिए पनि ट्रम्पले केही हप्ता अघि क्युबाबारे कडा अभिव्यक्ति दिएका थिए।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले क्युबासँग जे चाह्यो त्यही गर्न सक्ने टिप्पणी गरेका थिए। उनले क्युबालाई कमजोर राष्ट्र भन्दै “स्वतन्त्र गराउने वा कब्जा गर्ने” अवसर पाउने दाबीसमेत गरेका थिए।

यता क्युबाका राष्ट्रपति मिगुएल डियाज-कनेलले अमेरिकाले लगाएको ऊर्जा नाकाबन्दी वार्ताबाट समाधान खोजिरहेको बताएका छन्। अमेरिकी सञ्चारमाध्यमहरूले भने ट्रम्प प्रशासनले क्युबामा सत्ता परिवर्तनको तयारी गरिरहेको अड्कल गरेका छन्।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)