
विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त संवेदनशील मानिने स्ट्रेट अफ हर्मुज पार गर्दै गरेका दुई भारतीय झण्डाबाहक व्यापारिक जहाजमाथि शनिबार गोलीबारी भएको घटनाले क्षेत्रीय तनावलाई थप चर्काएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार इराकबाट कच्चा तेल बोकेर भारततर्फ आउँदै गरेको सनमार हेराल्ड र साउदी अरबको अल जुबैल बन्दरगाहबाट प्रस्थान गरेको जग अर्नब नामक जहाजलाई इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (IRGC) का गनबोटले निशाना बनाएका हुन्। समुद्री निगरानी निकायका अनुसार एउटा तेल ट्यांकर नजिक दुईवटा इरानी गनबोट बिना पूर्वसूचना पुगेका थिए र त्यसपछि गोली प्रहार गरिएको थियो भने अर्को जहाजमा ‘अज्ञात प्रोजेक्टाइल’ लागेर क्षति पुगेको बताइएको छ। यद्यपि घटनामा कुनै मानवीय क्षति, आगलागी वा वातावरणीय असर नभएको जनाइएको छ।
गोलाबारीपछि दुवै जहाजले लारक टापु पार गरेपछि गति घटाउँदै यू–टर्न लिएर मार्ग परिवर्तन गरेका थिए। हर्मुज क्षेत्रमा भारतीय जहाजमाथि पहिलो पटक प्रत्यक्ष रूपमा यस्तो आक्रमण भएको बताइएको छ। घटनापछि भारत सरकारले गम्भीर चिन्ता व्यक्त गर्दै कूटनीतिक पहल तीव्र बनाएको छ। विदेश सचिव विक्रम मिस्रीले नयाँ दिल्लीस्थित इरानी राजदूत मोहम्मद फथालीलाई बोलाएर कडा आपत्ति जनाएका छन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भारतले समुद्री सुरक्षालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै भारतीय जहाजहरूको सुरक्षित आवागमन तत्काल सुनिश्चित गर्न इरानसँग आग्रह गरिएको बताएका छन्। इरानी राजदूतले भने भारतको चिन्ता तेहरानसम्म पुर्याउने आश्वासन दिएका छन्।
बीबीसी हिन्दीका अनुसार घटनाका क्रममा IRGC नौसेनाले रेडियो सन्देशमार्फत भारतीय जहाजहरूलाई मार्ग परिवर्तन गर्न निर्देशन दिएको थियो। ‘च्यानल १६’ को अडियो रेकर्डिङका आधारमा ट्यांकर ट्र्याकिङ समूहहरूले इरानी सुरक्षा बलले दुई भारतीय जहाजलाई स्ट्रेटबाट पछि हट्न बाध्य बनाएको दाबी गरेका छन्। यसबीच केही भारतीय जहाज भने सुरक्षित रूपमा यही मार्ग प्रयोग गरेर आवतजावत गरिरहेका छन्। एमटी देश गरिमा नामक जहाज शनिबार दिउँसो सुरक्षित रूपमा मार्ग पार गरी मुम्बईतर्फ गइरहेको बताइएको छ। हालसम्म कम्तीमा ९ भारतीय जहाज सुरक्षित रूपमा पार भइसकेका छन् भने १३ जहाज अझै फारसको खाडी क्षेत्रमा रहेको जनाइएको छ।

घटना अमेरिका–इरानबीच जारी तनाव र सम्भावित युद्धविराम प्रयासकै बीच भएको हो। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले युद्ध पूर्ण रूपमा अन्त्य नभएसम्म हर्मुज स्ट्रेटमाथि आफ्नो नियन्त्रण कायम रहने चेतावनी दिएको छ। अमेरिकी नाकाबन्दीलाई इरानले युद्धविराम उल्लंघनको रूपमा व्याख्या गर्दै आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि बुधबारसम्म कुनै ठूलो सम्झौता नभए पुनः बम वर्षा सुरु गर्न सकिने चेतावनी दिएका थिए। उता इरानले पहिले स्ट्रेट खुला रहेको दाबी गरे पनि पछि आफ्नै निर्देशनअनुसार तोकिएको मार्गबाट मात्र जहाजहरूलाई आवतजावत गर्न दिने बताएको थियो। इरानी सरकारी सञ्चारमाध्यमले सेनाले पुनः स्ट्रेटमा पूर्ण नियन्त्रण स्थापना गरेको दाबी गरेका छन्। शुक्रबार अस्थायी रूपमा खुला गरिएको घोषणा गरेको हर्मुज शनिबारदेखि पुनः पुरानै नियन्त्रण अवस्थामा फर्किएको जनाइएको छ। यस घटनाले विश्व तेल बजार, समुद्री यातायात र क्षेत्रीय कूटनीतिमा गम्भीर प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।
