मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

इरानको ब्ल्याकमेल अब चल्दैन : ट्रम्पको कडा चेतावनी, वार्ता फेरि अन्योलमा

Author Image
आइतवार, वैशाख ६, २०८३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ‘ब्ल्याकमेल राजनीति’ अब नचल्ने कडा चेतावनी दिएका छन्। शनिबार ह्वाइट हाउसस्थित ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले हर्मुज जलडमरूमध्य बन्द गरेर इरानले अमेरिका र विश्व बजारलाई दबाबमा पार्ने प्रयास गरेको आरोप लगाए।

ट्रम्पले स्पष्ट शब्दमा भने, “इरानले हर्मुज बन्द गरेर अमेरिकालाई अब ब्ल्याकमेल गर्न सक्दैन।” पछिल्ला केही दिनयता खाडी क्षेत्रमा बढ्दो तनावबीच आएको यो अभिव्यक्तिलाई अमेरिकाको कडा सन्देशका रूपमा हेरिएको छ।

शुक्रबार इरानले हर्मुज जलडमरूमध्य अस्थायी रूपमा खुला गरिएको घोषणा गरेको थियो। तर त्यसको एक दिनपछि इरानको रिभोलुसनरी गार्डले फेरि उक्त क्षेत्रमा कडा नियन्त्रण कायम गरिएको दाबी गर्‍यो।

इरानी पक्षले अमेरिका तर्फबाट लगाइएको आर्थिक नाकाबन्दी र प्रतिबन्ध यथावत् रहेकाले हर्मुज खुला गर्ने निर्णय पुनः समीक्षा गरिएको जनाएको छ। त्यसपछि इरानी सुरक्षाबलले जलमार्गलाई पुनः पहिलेकै नियन्त्रण अवस्थामा फर्काइएको बताएको थियो।

यता ट्रम्पले भने इरानसँग “राम्ररी कुराकानी भइरहेको” दाबी गरेका छन्। उनले वार्ताबाट समाधान सम्भव रहेको संकेत दिए पनि व्यवहारिक रूपमा दोस्रो चरणको वार्ता अझै अनिश्चित देखिएको छ।

पाकिस्तानको इस्लामाबादमा हुने भनिएको अमेरिका–इरान दोस्रो चरणको वार्ता अझै निश्चित हुन सकेको छैन। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आइतबारसम्म वार्ता हुन सक्ने अनुमान गरिए पनि इस्लामाबादमा त्यससम्बन्धी कुनै स्पष्ट तयारी देखिएको छैन।

कतारी सञ्चारमाध्यम अल जजिराले पनि इरानी अधिकारीहरू तत्काल वार्ताका लागि तयार नभएको जनाएको छ। यसले दुई देशबीचको संवाद प्रक्रिया फेरि जटिल मोडमा पुगेको संकेत गरेको छ।

यसबीच ट्रम्पले इरानलाई बुधबारसम्म दीर्घकालीन सम्झौतामा पुग्न चेतावनी दिएका छन्। गत बुधबार अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा भएको थियो।

ट्रम्पले उक्त युद्धविराम अवधि थप नबढाइने स्पष्ट पारेका छन्। यदि निर्धारित समयभित्र सम्झौता नभए इरानमाथि पुनः सैन्य कारबाही हुन सक्ने संकेत उनले दिएका छन्।

यस अभिव्यक्तिले मध्यपूर्वमा फेरि सैन्य तनाव बढ्ने सम्भावना देखिएको छ। विश्व ऊर्जा आपूर्ति र तेल बजारका लागि अत्यन्त संवेदनशील मानिने हर्मुज क्षेत्र फेरि अस्थिर बनेमा त्यसको असर विश्व अर्थतन्त्रसम्म पुग्न सक्ने विश्लेषण गरिएको छ।