मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

कांग्रेसभित्र एकता प्रयास तीव्र

Author Image
आइतवार, वैशाख ६, २०८३

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र आगामी राजनीतिक दिशाबारे छलफल तीव्र बन्दै गएको छ। यसै क्रममा सभापति गगन थापाले नेता पूर्णबहादुर खड्कालाई उनकै निवास गल्फुटार पुगेर भेट गरेका छन्।

एक घन्टा लामो सौहार्दपूर्ण छलफल

दुई नेताबीच करिब एक घन्टा लामो छलफल भएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन्। भेटवार्ता सौहार्दपूर्ण भए पनि छलफलका विस्तृत विषय भने सार्वजनिक गरिएको छैन।

एकताको सन्देशसहितको भेट

खड्काले आइतबार आफूनिकट नेताहरूसँग धुम्बाराहीमा छलफल गरेका थिए। उक्त छलफलबाट पार्टी एकताको बृहत्तर पहल सभापति थापाले गर्नुपर्ने निष्कर्ष निस्किएको बताइन्छ। त्यसलगत्तै थापा खड्कालाई भेट्न निवासमै पुगेका हुन्।

कानुनी र राजनीतिक तनावबीच संवाद

पूर्व सभापति शेरबहादुर देउवा र नेता खड्काले विशेष महाधिवेशनविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतले गत शुक्रबार खारेज गरेपछि कांग्रेसभित्रको शक्ति सन्तुलन फेरि चर्चामा आएको छ।

त्यसअघि नै खड्का पक्षलाई लिएर अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो, जसले पार्टीभित्रको तनाव थपिएको संकेत गरेको थियो।

आन्तरिक समीकरणमा नयाँ संकेत

हालको भेटलाई कांग्रेसभित्र बढ्दो मतभेद कम गर्ने र साझा राजनीतिक लाइन बनाउन गरिएको प्रयासका रूपमा हेरिएको छ।