
जाजरकोटमा सात किलोभन्दा बढी अफिमसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाँकेको राप्ती सोनारी गाउँपालिका-१ बैरिया बजारका ३८ वर्षीय दिपक कुमाल र जाजरकोटको कुशे गाउँपालिका-५ दम्दलाका २४ वर्षीय जयबहादुर वर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक एक्कबहादुर नेपालीका अनुसार शनिबार दिउँसो उनीहरू छेडागाड नगरपालिका-५ थलबजारस्थित महेन्द्र साल्मी होटेलबाट पक्राउ परेका हुन्।
होटेलको कोठा भाडामा लिएर बसेका उनीहरूले लागुऔषधको अवैध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय जाजरकोटको संयुक्त टोलीले छापा मारेको थियो।
कोठा तलासीका क्रममा ७ किलो ३० ग्राम अफिम बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैमाथि लागुऔषधसम्बन्धी मुद्दा चलाउने तयारीसहित थप अनुसन्धान भइरहेको छ।
