मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

इरान–अमेरिका वार्ता अन्योलमा

Author Image
सोमवार, वैशाख ७, २०८३

अमेरिका र इरानबीच फेरि तनाव चर्किएको छ। स्ट्रेट अफ हर्मुज नजिकै अमेरिकी सेनाले एउटा इरानी पानीजहाज नियन्त्रणमा लिएपछि दुई देशबीच हुने भनिएको दोस्रो चरणको वार्ता अन्योलमा परेको हो। यस घटनाले युद्धविरामपछिको सम्भावित संवाद प्रक्रिया नै संकटमा परेको विश्लेषण गरिएको छ।

अमेरिकाले इरानमाथिको नाकाबन्दी थप कडा बनाउन परिचालित सैन्य अभियानअन्तर्गत आइतबार उक्त जहाज कब्जामा लिएको जनाएको छ। इरान र अमेरिकाबीच अप्रिल ७ मा लागू भएको दुई साताको युद्धविराम बुधबार समाप्त हुँदैछ। युद्धविराम सकिनुअघि नै वार्ता गराएर नयाँ सहमति खोज्ने प्रयास भइरहेको बेला पछिल्लो घटनाले परिस्थिति जटिल बनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिकी प्रतिनिधिमण्डल इरानसँग वार्ताका लागि पुग्ने घोषणा गरेका छन्। तर इरानले भने प्रतिनिधिमण्डल पठाउने वा नपठाउनेबारे कुनै आधिकारिक जानकारी दिएको छैन।

इरानी सरकारी टेलिभिजनले अज्ञात स्रोतलाई उद्धृत गर्दै अमेरिकाको “अत्यधिक र तर्कहीन” माग, साथै पटक–पटक बदलिने अडानका कारण दोस्रो चरणको वार्ताको कुनै योजना नरहेको जनाएको छ। यसले इरानभित्र वार्ताबारे स्पष्ट एकमत नरहेको संकेत गरेको छ।

यद्यपि इरानी राष्ट्रपति मसुद पेजेस्कियानले भने अमेरिकासँगको तनाव कम गर्न हरेक तर्कसंगत र कूटनीतिक मार्ग अपनाउनुपर्ने बताएका छन्। उनले वार्ता र संवादको ढोका बन्द गर्न नहुने धारणा राख्दै अमेरिका माथि पूर्ण विश्वास गर्न नसकिने भएकाले सावधानीपूर्वक अघि बढ्नुपर्ने बताएका छन्।

इरानभित्र अहिले दुई धार देखिएको बताइन्छ। एकातर्फ मध्यमार्गी राजनीतिक नेतृत्व अमेरिकासँग वार्ता गरेर प्रतिबन्ध कम गराउने, आर्थिक दबाब घटाउने र क्षेत्रीय तनाव कम गर्ने पक्षमा छ। अर्कोतर्फ इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आईआरजिसी) भने अमेरिकासँग झुक्न नहुने अडानमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यही आन्तरिक शक्ति संघर्षका कारण स्ट्रेट अफ हर्मुजबारे पनि परस्पर विरोधी सन्देश आएका छन्। इरानी विदेशमन्त्री अब्बास अराग्चीले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत लेबननमा भएको युद्धविराम अवधिभर हर्मुज पूर्ण रूपमा खुला रहने घोषणा गरेका थिए। उनले सबै व्यावसायिक जहाजलाई सुरक्षित आवतजावतको अनुमति दिइएको बताएका थिए।

तर केही घण्टामै आईआरजिसीले जहाजहरूको आवागमनमा फेरि कडाइ गरेको खबर सार्वजनिक भयो। इरानी नौसेनाबाट रेडियो सन्देशमार्फत हर्मुज पूर्ण रूपमा नखुलेको जानकारी दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

शनिबारदेखि दुई भारतीय झण्डाबाहक जहाजमाथि गोलीबारी भएको दाबीसमेत गरिएको छ। यस घटनाले विश्व व्यापारका लागि अत्यन्त संवेदनशील मानिने हर्मुज जलमार्ग फेरि जोखिममा परेको संकेत गरेको छ।

स्ट्रेट अफ हर्मुज विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्गमध्ये एक हो। खाडी क्षेत्रबाट निर्यात हुने ठूलो परिमाणको कच्चा तेल यही मार्ग हुँदै विश्व बजारमा पुग्ने भएकाले यहाँ अस्थिरता बढ्दा अन्तर्राष्ट्रिय बजारमा तेल मूल्य बढ्न सक्ने चिन्ता छ।

विश्लेषकहरूका अनुसार इरानी राजनीतिक नेतृत्व र सैन्य संरचनाबीचको मतभेदले अमेरिकासँगको सम्भावित वार्ता थप कठिन बनाएको छ। राष्ट्रपति पेजेस्कियानले संवादको पक्षमा संकेत दिए पनि अन्तिम निर्णयमा सुरक्षा निकायको प्रभाव निर्णायक बन्न सक्ने देखिन्छ।

यदि बुधबार युद्धविराम समाप्त हुँदासम्म कुनै नयाँ सहमति हुन सकेन भने अमेरिका–इरान सम्बन्ध थप तनावपूर्ण बन्ने, हर्मुज क्षेत्र अस्थिर हुने र मध्यपूर्वमा नयाँ संकट उत्पन्न हुने सम्भावना बढेको छ।