
सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडी तथा पश्चिम एसियाका विभिन्न मुलुकका लागि रोकिएको श्रम स्वीकृति पुनः खुला गरेको छ। यस निर्णयसँगै वैदेशिक रोजगारीको प्रतीक्षामा रहेका हजारौँ नेपाली युवालाई ठूलो राहत मिलेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै अस्थायी प्रतिबन्ध हटाएको हो। अब साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, जोर्डन, लेबनन, टर्की र इजरायलका लागि व्यक्तिगत, संस्थागत तथा वैधानिकीकरणसहित सबै प्रकारका श्रम स्वीकृति पूर्ववत रूपमा जारी हुने वैदेशिक रोजगार विभागले जनाएको छ।
इरान युद्धका कारण पश्चिम एसियामा उत्पन्न सुरक्षा जोखिमलाई ध्यानमा राख्दै सरकारले फागुन १७ गते ती देशहरूमा वैदेशिक रोजगारीका लागि अस्थायी रोक लगाएको थियो।
हाल क्षेत्रीय अवस्था केही सहज बनेपछि श्रमिकको हित, रोजगारीको माग र आर्थिक आवश्यकतालाई ध्यानमा राखेर श्रम स्वीकृति फेरि खुला गरिएको विभागले जनाएको छ।
यद्यपि इराकको हकमा भने यसअघिकै मन्त्रिपरिषद् निर्णयअनुसार व्यवस्था कायम रहनेछ।
यो निर्णयसँगै विदेश जाने तयारीमा रहेका नेपाली युवाहरू, म्यानपावर कम्पनीहरू तथा रेमिट्यान्समा आधारित अर्थतन्त्रले समेत राहत महसुस गर्ने अपेक्षा गरिएको छ।

