मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

चाँदीमा लगानीकर्ताको भीड

Author Image
मङ्गलवार, वैशाख ८, २०८३

यो वर्ष चाँदीको मूल्य करिब चार गुणाले बढ्दा नेपालमा यसको माग झन् चुलिएको छ। मूल्य बढे पनि लगानीकर्ताको आकर्षण कम नभई अझ बढेको देखिएको छ।

२०८१ चैत मसान्तमा प्रतितोला १ हजार ९६० रुपैयाँ रहेको चाँदी २०८२ चैत मसान्तसम्म आइपुग्दा ४ हजार ९०० रुपैयाँ पुगेको छ। फागुन १५ गते प्रतितोला ५ हजार ७ सय रुपैयाँसम्म पुगेको मूल्य पछिल्लो डेढ महिनामा केही घटेर वैशाख ८ गतेसम्म ५ हजार १ सय ६० रुपैयाँमा झरेको छ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म नौ महिनामा २९ अर्ब ९३ करोड रुपैयाँ बराबरको ९ करोड ६६ लाख ग्राम चाँदी आयात भएको छ। आयात मूल्य र परिमाण दुवै हिसाबले यो अहिलेसम्मकै उच्च हो। अघिल्लो वर्ष यही अवधिमा ५ अर्ब ३१ करोड रुपैयाँको ३ करोड ८१ लाख ग्राम मात्रै चाँदी आयात भएको थियो।

व्यवसायीहरूका अनुसार माघ दोस्रो सातासम्म बजारमा चाँदीको अभाव थियो। त्यसपछि ठूलो मात्रामा आयात बढेपछि अहिले अभाव हटेको छ। यद्यपि फागुनको तुलनामा चैतमा आयात र कारोबार दुवै घटेको उनीहरूको भनाइ छ।

सुनमा लगानी गर्न धेरै पुँजी चाहिने र आयात तथा कारोबारमा कडा व्यवस्था भएकाले सर्वसाधारण चाँदीतर्फ आकर्षित भएको व्यवसायीहरूको तर्क छ। चाँदीमा भने सर्वसाधारणले किनबेच र लगानी गर्न सक्ने भएकाले माग बढेको बताइन्छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार पछिल्ला महिनामा चाँदी आयात गर्ने व्यापारीको संख्या नै बढेको छ। सुनभन्दा सस्तो र सहज विकल्प भएकाले धेरै लगानीकर्ता चाँदीतर्फ मोडिएका छन्।

व्यवसायीहरूका अनुसार पछिल्ला दिनमा गहना वा भाँडाकुँडाभन्दा पनि चाँदीको ढिक्का किनेर लगानी गर्ने प्रवृत्ति बढेको छ। विश्व बजारमा सोलार, आइटी र औद्योगिक क्षेत्रमा बढ्दो माग तथा मूल्य अझ बढ्ने अनुमानले नेपालमा पनि चाँदी किन्नेहरू बढिरहेका छन्।