मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

१७ हजारभन्दा बढी अमेरिकी डलर सहित पाकिस्तानी पक्राउ

Author Image
मङ्गलवार, वैशाख ८, २०८३

सुन चोरी र ठगी आरोपमा पक्राउ परेका दुई पाकिस्तानी महिलाका श्रीमानबाट प्रहरीले ठूलो मात्रामा विदेशी मुद्रा बरामद गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भाग्न खोज्दै गर्दा उनीहरू पक्राउ परेका हुन्।

कपिलवस्तुको तौलिहवा र चन्द्रौटामा गत ३० चैतमा भएको सुन चोरी र ठगी घटनामा संलग्न आरोपमा पाकिस्तानी नागरिक २० वर्षीया वेबी कलसुम र ४१ वर्षीया सर्वना यसअघि पक्राउ परेका थिए।

उनीहरू पक्राउ परेपछि नेपाल छाडेर भाग्ने प्रयासमा रहेका उनका श्रीमान २३ वर्षीय इर्फान अली र ४४ वर्षीय सफीउर रहमानलाई सोमबार काठमाडौंबाट पक्राउ गरिएको हो। उनीहरू एयर अरेबियाको विमानमार्फत देश छाड्ने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट १७ हजार १३६ अमेरिकी डलर बरामद भएको छ, जुन नेपाली रुपैयाँमा २५ लाखभन्दा बढी हुन्छ। साथै साउदी रियाल ३२५, बंगलादेशी टाका १ हजार ६१५, युएई दिराम ५ र मलेसियन रिंगेट १८५ पनि फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

प्रहरीका अनुसार अनुसन्धानमा उनीहरूको समेत सुन चोरीमा संलग्नता देखिएको छ। श्रीमतीहरूलाई पसलभित्र सुन चोरी गर्न पठाउने र बाहिर बसेर निगरानी गर्ने तथा भाग्न सहयोग गर्ने भूमिका उनीहरूले खेलेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

दुवै महिलाले शिवराज नगरपालिका–५ चन्द्रौटास्थित एक सुनचाँदी पसलबाट झुम्का चोरी गर्नुका साथै तौलिहवास्थित अर्को पसलमा ठगी गरेको आरोप छ। सुन साट्ने बहानामा व्यवसायीलाई झुक्याएर गहना लिएर फरार भएको प्रहरीले जनाएको छ।

नेपालमा एक महिनाको भिसामा आएका उनीहरू मार्च २४ मा काठमाडौं आएका थिए भने उनीहरूको भिसा अवधि अप्रिल २२ सम्म रहेको थियो। प्रहरीले चारै जनामाथि थप अनुसन्धान जारी राखेको छ।