
गृहमन्त्री सुधन गुरुङको राजीनामा र मूल्यवृद्धि नियन्त्रणको माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सिंहदरबारभित्रै प्रवेश गरी प्रदर्शन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद बैठक चलिरहेका बेला नेविसंघका कार्यकर्ताहरू अपराह्न सिंहदरबार परिसरभित्र प्रवेश गरी विरोध प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले प्रधानमन्त्री कार्यालय अगाडि नाराबाजीसमेत गरेका थिए।
प्रदर्शनमा नेविसंघ केन्द्रीय सदस्य भुवन भट्ट, कुम्भराज देउवा, मञ्जन देवकोटा, प्रज्ञा योगी, सुनिल ऐडीलगायत सहभागी थिए। उनीहरूले गृहमन्त्रीको राजीनामा र बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरेका थिए।
नेविसंघ नेता भुवन भट्टले जनताले विश्वास गरेको सरकार जनताप्रति जवाफदेही हुनुपर्ने र गम्भीर नैतिक प्रश्न उठे मन्त्रीले छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए।
प्रदर्शनका क्रममा नाराबाजी र विरोधपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ।
