
सम्पत्ति शुद्धीकरण अनुसन्धानको घेरामा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले अनुसन्धानका लागि उनीहरूलाई थप सात दिन हिरासतमा राख्न आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भने उनीहरूलाई ३० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न समय माग गरेको थियो। विभागका अनुसार अनुसन्धान अन्तिम चरणमा पुगेको छ भने बीमा ऐन र धितोपत्र ऐन अन्तर्गत जोडिएका सम्भावित कसुरबारे पनि थप छानबिन भइरहेको छ।
विभागले राय प्रतिवेदन तयार पार्न अझै समय आवश्यक रहेको जनाउँदै म्याद थप माग गरेको थियो। सोही आधारमा अदालतले सात दिनको अनुमति दिएको बताइएको छ।
यस प्रकरणलाई आर्थिक अपराध अनुसन्धानका दृष्टिले महत्वका साथ हेरिएको छ। आगामी सात दिनभित्र अनुसन्धान प्रतिवेदन तयार भई थप कानुनी प्रक्रिया अघि बढ्ने सम्भावना रहेको स्रोतले जनाएको छ।
