
श्रम संस्कृति पार्टीले देशैभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई संगठित गर्ने अभियान सुरू गर्ने भएको छ। पार्टी अध्यक्ष हर्क साम्पाङ ले सरकारको सुकुम्बासी बस्ती हटाउने अभियानको विरोध गर्दै सबै जिल्ला र पालिका समितिलाई संगठन विस्तार गर्न आग्रह गरेका हुन्।
साम्पाङले सामाजिक सञ्जालमार्फत सुकुम्बासीहरूलाई एकजुट हुन आह्वान गर्दै यसको नेतृत्व श्रम संस्कृतिले लिने बताएका छन्। सरकारले सार्वजनिक तथा नदी उकास जग्गामा बनेका बस्ती हटाउन थालेपछि उनले निरन्तर विरोध जनाउँदै आएका छन्।
सरकारले शनिबारदेखि काठमाडौं उपत्यकाका थापाथली, सिनामंगल र मनोहरा क्षेत्रका बस्तीमा डोजर चलाएको छ। विस्थापित परिवारलाई हाल दशरथ रंगशाला मा विवरण दर्ता गराएर केहीलाई कीर्तिपुरस्थित सत्सङ भवन र होटलहरूमा राखिएको छ।
सरकारले उनीहरूलाई इचंगु नारायण स्थित अपार्टमेन्टमा स्थानान्तरण गर्ने तयारी गरेको जनाएको छ।
