मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

एनआरएनए महिला सम्मेलनको तयारी तीव्र, सशक्तिकरणमा जोड

Author Image
सोमवार, वैशाख १४, २०८३

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत अन्तर्राष्ट्रिय समन्वय परिषद्को महिला विभागले “महिला सशक्तिकरणको आधार, रोजगारी, उद्यम र व्यापार” भन्ने मूल नारासहित पहिलो अन्तर्राष्ट्रिय महिला सम्मेलनको तयारी तीव्र बनाएको छ।

आगामी जनवरीमा काठमाडौं मा आयोजना हुने उक्त सम्मेलनको उद्देश्य विश्वभर रहेका नेपाली महिलाहरूलाई एउटै मञ्चमा ल्याई अनुभव, चुनौती र सफलताका कथाहरू आदान–प्रदान गर्नु रहेको आयोजकले जनाएको छ।

सम्मेलनको तयारीस्वरूप आयोजित हाइब्रिड सुझाव संकलन कार्यक्रममा मानव अधिकार आयोगकी सदस्य लिली थापा, कोशी प्रदेशकी राज्यमन्त्री शोभा चेम्जोङ, महिला आयोगकी अध्यक्ष कमला पराजुली, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो तथा पूर्व अध्यक्ष रबिना थापालगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रम महिला उपाध्यक्ष राधिका गुरुङ (टीका) को सभापतित्वमा सम्पन्न भएको थियो भने अध्यक्ष डा. हेमराज शर्मा र महासचिव डा. चिरञ्जीवी खड्काले विशेष सम्बोधन गरेका थिए।

सरोकारवालाहरूले महिला सशक्तिकरणका लागि नीतिगत सुधार, सीप विकास, वित्तीय पहुँच, सुरक्षित वैदेशिक रोजगार, उद्यमशीलतामा सहुलियतपूर्ण ऋण, बजार पहुँच र प्रविधिमा पहुँच विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

त्यस्तै लैङ्गिक हिंसा न्यूनीकरण, मानसिक स्वास्थ्य सेवा विस्तार, जलवायु परिवर्तनको असर न्यूनीकरण र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने विषय पनि उठाइएको छ। विदेशमा सफल भएका नेपाली महिलाका अनुभवलाई स्वदेशसँग जोडेर प्रेरणा र सीप हस्तान्तरण गर्नुपर्ने सुझाव समेत दिइएको छ।

आयोजकका अनुसार सम्मेलनमा महिला सशक्तिकरण, उद्यमशीलता, वैदेशिक रोजगार, स्वास्थ्य, शिक्षा, मानव अधिकार, जलवायु परिवर्तन र मानव बेचबिखनजस्ता विषयमा विस्तृत छलफल हुनेछ। सम्मेलनबाट प्राप्त सुझावका आधारमा नीतिगत सिफारिस तयार गरी सम्बन्धित निकायलाई बुझाइनेछ।