
नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापाविरुद्ध विवादास्पद अभिव्यक्ति दिएका नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई जिल्ला सभापतिबाट निलम्बन गरेको छ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उनलाई रामेछाप जिल्ला सभापतिको पदमा बसेर कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो।
जिल्ला सभापतिजस्तो जिम्मेवार पदमा बसेर पार्टी नेतृत्वविरुद्ध भ्रमपूर्ण, तथ्यहीन र बदनियतपूर्ण अभिव्यक्ति दिएको भन्दै समितिले यसअघि तीन दिने स्पष्टीकरण सोधेको थियो।
केही दिनअघि सार्वजनिक भिडियोमा कान्छारामले “गगनकुमार थापासँग तीन अर्ब रुपैयाँ छ” भन्दै आरोप लगाएका थिए। उनले २१ फागुनको चुनावमा एक अर्ब खर्च गर्दा पनि थापाले जित्न नसकेको दाबी समेत गरेका थिए। यही अभिव्यक्तिपछि कांग्रेसले कारबाही प्रक्रिया अघि बढाएको हो ।
