मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

झापा-५ मा त्रास, स्थानीयमा चिन्ता बढ्यो

Author Image
बुधवार, वैशाख १६, २०८३

प्रधानमन्त्री बालेन शाहको निर्देशनमा काठमाडौंका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्तीहरूमा डोजर चलाइएपछि पूर्वी झापा क्षेत्रका सुकुम्बासी समुदायमा त्रास फैलिएको छ।

प्रधानमन्त्री शाहको निर्वाचन क्षेत्र झापा-५ अन्तर्गत पर्ने दमक नगरपालिका–४ खरखरेस्थित जानकी टोलका स्थानीय सुकुम्बासीहरूले काठमाडौंको घटनाले आफूहरूमा असुरक्षा र चिन्ता बढाएको बताएका छन्।

स्थानीय सुकुम्बासी रूपा दर्जीका अनुसार काठमाडौंमा भएको डोजर कारबाहीपछि आफ्नो बस्तीमा पनि हटाउने तयारी हुन सक्ने आशंकाले डर उत्पन्न भएको छ।

“हामी बसेको बस्तीमा पनि डोजर चल्छ रे भन्ने कुरा आइरहेको छ,” उनले भनिन्, “हामी पनि सुकुम्बासी हौं। प्रधानमन्त्री हाम्रो क्षेत्रकै हुनुहुन्छ, त्यसैले अझै डर बढेको छ।”

उनले निर्वाचनको समयमा प्रधानमन्त्री शाहले सुकुम्बासीप्रति सकारात्मक आश्वासन दिएको स्मरण गर्दै अहिलेको अवस्थाप्रति निराशा व्यक्त गरिन्।

“खाना खानुभयो भनेर उहाँले सोध्नुभएको थियो। हामीले उहाँलाई भोट पनि दिएका थियौं,” उनले भनिन्, “तर अहिले काठमाडौंको दृश्य देख्दा डर लाग्न थालेको छ।”

स्थानीयवासीहरूका अनुसार सुकुम्बासी बस्ती हटाउने चर्चा र हल्लाले झापा क्षेत्रमा समेत मानसिक तनाव र अनिश्चितता बढाएको छ।