मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

‘दिगो समाधान’ कि दिगो अन्योल? -यथार्थ उतार्ने उपन्यास चर्चामा

Author Image
आइतवार, वैशाख २०, २०८३

काठमाडौँ। सन् १९९० को दशकमा नेपालमा भुटानी शरणार्थीको संख्या एक लाख नाघेपछि यो मुद्दा राष्ट्रिय सीमाभन्दा बाहिर पुगेर अन्तर्राष्ट्रिय सरोकार र दबाबको विषय बन्यो। त्यसपछि समाधानका रूपमा अघि सारियो तेस्रो देशमा पुनर्वास। अमेरिका, बेलायत, अष्ट्रेलिया लगायत आठ देशमा शरणार्थी बसोबास गराउने यो योजनाले तीव्रता पाएसँगै स्वेच्छिक घरफिर्ती वा नेपालमै स्थानीय बसोबासजस्ता विकल्पहरू ओझेलमा परे।

सन् २००७ देखि सुरु भएको पुनर्वास कार्यक्रम २०१६ सम्म चल्दा झन्डै १ लाख १५ हजार भुटानी शरणार्थी तेस्रो देश पुगे। तर पुनर्वासमा नजाने वा नपाएका करिब ६ हजार ५ सय शरणार्थी अझै झापाको बेलडाँगी र मोरङको पथरी शनिश्चरे शिविरमा बसिरहेका छन्। उनीहरूका लागि ‘दिगो समाधान’ अझै पनि प्रतीक्षाको विषय बनेको छ।

यही यथार्थ र पीडालाई आधार बनाएर शरणार्थी जीवन भोगिरहेका लेखक हेम गुरागाईंले ‘दिगो समाधान’ नामक उपन्यास सार्वजनिक गरेका छन्। शीर्षकले समाधानको संकेत गरे पनि कृतिले समाधानभित्रको अन्योल, अस्थिरता र राजनीतिक विडम्बनालाई व्यङ्ग्यात्मक शैलीमा उजागर गर्छ।

गुरागाईं स्वयं दक्षिणी भुटानबाट विस्थापित भई बाल्यकालमै नेपाल आइपुगेका व्यक्ति हुन्। परिवारका सदस्यहरू पुनर्वासमार्फत अष्ट्रेलिया पुगे पनि उनी भने बेलडाँगीमै बस्दै आएका छन्। आफ्नै अनुभव र अनुभूतिलाई आधार बनाएर उनले यो कृति तयार पारेका हुन्। उनका अनुसार पुस्तकले समाधानभन्दा बढी समाधानभित्रको डामाडोल अवस्था देखाउने प्रयास गरेको छ।

उपन्यासको कथावस्तु २०२३ डिसेम्बरदेखि अघि बढ्छ, जहाँ केही पात्र र घटनाहरू यथार्थमा आधारित छन् भने धेरै पक्ष काल्पनिक रूपमा प्रस्तुत गरिएका छन्। चिराङ, साम्ची, सर्भाङ, दागाना, गेलेफु लगायत भुटानका स्थानहरूको सूक्ष्म वर्णनले कथालाई जीवन्त बनाएको छ।

कथाभित्र एउटा गम्भीर प्रश्न उठाइएको छ, “दिगो समाधान खोज्दै अमेरिका गएका होइनन् र?” यसको जवाफमा पात्रहरू भन्छन्, “कि भुटानसँग मुद्दा जितेर केही मान्छे फर्किएपछि समाधान हुन्छ, कि बाँकीलाई नेपालले व्यवस्थापन गरेपछि।” यसले समाधानको नाममा रहेको अन्योललाई स्पष्ट संकेत गर्छ।

उपन्यासले ‘दिगो समाधान’ व्यवहारमा शून्यजस्तै रहेको धारणा प्रस्तुत गर्छ। पुनर्वासलाई अन्तिम समाधानका रूपमा स्थापित गरिए पनि यसले समस्या अन्त्य नगरी नयाँ जटिलता जन्माएको देखाइएको छ।

कृतिमा ‘माइन्ड कन्ट्रोल’ जस्ता संवेदनशील विषय पनि समेटिएका छन्। ‘गुलिब्लाइजर’ नामक काल्पनिक औषधिको प्रयोगमार्फत मानिसलाई नियन्त्रण गर्न सकिने अवधारणा प्रस्तुत गरिएको छ। कथानकअनुसार यसैको प्रयोगबाट भुटानका तत्कालीन शासकलाई नेपालीभाषी समुदायमाथि दमन गर्न प्रभावित पारिएको संकेत गरिएको छ। लेखकले यसलाई प्रतीकात्मक रूपमा प्रयोग गरेको बताएका छन्।

त्यसैगरी भारत, भुटान र नेपालबीचको भूराजनीतिक सम्बन्धलाई पनि उपन्यासमा महत्वपूर्ण रूपमा उठाइएको छ। सन् १९७७ देखि नै दक्षिण भुटानका नेपालीभाषी समुदायमाथि लक्षित रणनीति बनेको, १९८५ को नागरिकता ऐनमार्फत उनीहरूलाई अनागरिक बनाउने प्रक्रिया सुरु गरिएको र १९८८ को जनगणनाबाट नागरिकता खोसिएको जस्ता विषयहरू कथाभित्र समेटिएका छन्।

लेखकले ‘नेपालोफोबिया’ भन्ने शब्द प्रयोग गर्दै नेपाल र नेपालीप्रति नकारात्मक भावना फैलाउने प्रयास भएको दाबी पनि गरेका छन्। ऐतिहासिक घटनाहरू जस्तै टेकनाथ रिजालको गिरफ्तारी, दरबार हत्याकाण्ड, आरके बुढाथोकीको हत्या र पुनर्वास योजनाको सुरुवातलाई एउटै कथानकमा जोडेर प्रस्तुत गरिएको छ, जसले पाठकमा कुतूहल पैदा गर्छ।

मूल प्रश्न भने अझै उही छ, दिगो समाधान के हो?

गुरागाईंका अनुसार पुनर्वास स्थायी समाधान होइन। भुटान फर्किने सम्भावना कमजोर छ भने नेपालले नागरिकता दिन चाहँदैन। यस्तो अवस्थामा स्थानीय बसोबास नै व्यावहारिक विकल्प हुन सक्ने उनको तर्क छ।

उनले नेपालले निश्चित अवधिका लागि बसोबास अधिकार दिने व्यवस्था ल्याउनुपर्ने सुझाव दिएका छन्, जसले शरणार्थीलाई स्थायित्व दिनुका साथै पुनर्वासमा गएका समुदायसँग आर्थिक र सामाजिक सम्बन्ध मजबुत बनाउन सहयोग गर्न सक्छ।

उपन्यासले शरणार्थी जीवनको पीडा गहिराइमा प्रस्तुत गर्छ। एउटा पात्रको संवादमा भनिएको छ, “म एक्ली बूढी, छोरा भुटानको जेलमा, छोरी अष्ट्रेलिया, श्रीमान बितिसके, म मात्रै बाँकी।” यस्तो चित्रणले हजारौं परिवारको विखण्डन र असहाय अवस्थालाई उजागर गर्छ।

यस्तै वास्तविकतासँग मिल्दोजुल्दो उदाहरणका रूपमा भुटानको जेलमा वर्षौंदेखि बन्दी रहेका ओमनाथ अधिकारी र बेलडाँगी शिविरमा बसिरहेकी उनकी वृद्ध आमाको अवस्था उल्लेखनीय छ।

अन्ततः ‘दिगो समाधान’ केवल उपन्यास नभई भुटानी शरणार्थीहरूको अधुरो कथा, अन्योलपूर्ण भविष्य र निरन्तर संघर्षको दस्तावेजका रूपमा उभिएको छ। लेखकका शब्दमा यो लडाइँ छिट्टै टुंगिने होइन, पुस्तौँसम्म चल्न सक्ने संघर्ष हो।