
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा रहेका तर लिजमा रूपान्तरण नगरिएका सरकारी जग्गा तथा संरचना खाली गर्न निर्देशन दिएपछि च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय प्रभावित हुने भएको छ।
‘सरकारी जग्गा उपयोगसम्बन्धी कार्यनीति, २०७९’ अनुसार तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा नगर्ने संस्थाहरूको भोगाधिकार स्वतः समाप्त हुने व्यवस्था कार्यान्वयनमा आएसँगै यस्तो अवस्था बनेको हो।
ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानको नाममा रहेको सरकारी जग्गामा एमालेले केही वर्षदेखि आफ्नो केन्द्रीय कार्यालय सञ्चालन गर्दै आएको थियो।
२०७२ सालको भूकम्पपछि बल्खुस्थित कार्यालय छाडेको एमाले विभिन्न स्थान हुँदै च्यासल पुगेको थियो। तर सरकारको पछिल्लो निर्णयसँगै अब उक्त कार्यालय पुनः स्थानान्तरण गर्नुपर्ने अवस्था देखिएको छ।
