मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

ओलीको स्वास्थ्यपछि एमालेभित्र बढ्दो अन्योल

Author Image
शुक्रवार, वैशाख २५, २०८३

काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारपछि पूर्ण रूपमा सक्रिय हुन नसक्दा पार्टीभित्र राजनीतिक अन्योल र नेतृत्व बहस चर्किन थालेको छ। पित्तथैली र हर्नियाको शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहेका ओली नियमित राजनीतिक गतिविधिमा फर्किन नसक्दा एमालेका महत्वपूर्ण बैठकसमेत रोकिएका छन्।

पार्टीका सचिव राजन भट्टराईका अनुसार अध्यक्ष ओली पूर्ण रूपमा हिँडडुल गर्न सक्ने अवस्थामा नपुगेकाले सचिवालय वा उच्चस्तरीय बैठक तत्काल बस्ने सम्भावना कम देखिएको छ। उनले ओलीकै अध्यक्षतामा बैठक बस्नुपर्ने धारणा पार्टीभित्र रहेको बताए।

यसबीच सरकारले काठमाडौंसहित विभिन्न क्षेत्रमा डोजर अभियान चलाउँदै हजारौँ सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई विस्थापित गरेको विषयमा एमालेले स्पष्ट धारणा सार्वजनिक गर्न नसकेको भन्दै पार्टीभित्रै असन्तुष्टि बढेको छ। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले अनुगमनका क्रममा विस्थापितहरूले रोजगारी गुमेको, बालबालिकाको पढाइ प्रभावित भएको र अस्थायी सेल्टरमा मानवीय संकट बढेको गुनासो गरेका छन्।

गृह मन्त्रालयले देशभर अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा खाली गर्न निर्देशन दिएपछि लाखौँ परिवार प्रभावित हुने अवस्था देखिएको छ। यस्तो संवेदनशील विषयमा पार्टीको स्पष्ट दृष्टिकोण आउन नसक्दा एमाले निष्क्रिय देखिएको भन्दै नेताहरूले चिन्ता व्यक्त गर्न थालेका छन्।

एमालेभित्र अहिले नेतृत्व परिवर्तनको बहस पनि तीव्र बन्दै गएको स्रोतहरूको दाबी छ। केही सचिवालय सदस्यहरूले ओलीको विकल्प खोज्नुपर्ने धारणा राख्न थालेका छन् भने अर्को पक्ष ओलीकै नेतृत्व निरन्तर हुनुपर्ने अडानमा देखिएको छ।

पार्टीभित्र भर्चुअल माध्यमबाट बैठक राख्ने विषयमा समेत छलफल भए पनि अधिकांश नेताहरू ओलीकै भौतिक उपस्थितिमा बैठक हुनुपर्ने पक्षमा छन्। यद्यपि, ओलीविरुद्ध सचिवालयभित्र मत बढ्दै गएको र केही प्रभावशाली नेताहरूले वैकल्पिक नेतृत्वबारे आन्तरिक छलफल सुरु गरेको चर्चा एमाले वृत्तमा चलिरहेको छ।

उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ तथा महासचिव शंकर पोखरेलजस्ता नेताहरू पनि नयाँ नेतृत्वको बहसतर्फ झुक्न थालेको दाबी भइरहेका बेला ओली पक्ष भने पार्टी पुनर्गठनको नाममा अनावश्यक गतिविधि भइरहेको आरोप लगाइरहेको छ।

एमालेभित्र अहिलेको मुख्य प्रश्न नेतृत्व निरन्तरता कि पुनर्गठन भन्ने बनेको छ। अध्यक्ष ओली पूर्ण रूपमा सक्रिय नहुँदासम्म पार्टीको आन्तरिक राजनीति थप पेचिलो बन्ने संकेत देखिएको छ।