
भारतले नेपाली तयारी चियाको आयातमा नयाँ कडा नियम लागू गरेपछि एक सातादेखि नेपालबाट भारततर्फ हुने चिया निर्यात पूर्ण रूपमा ठप्प भएको छ।
भारतीय चिया बोर्डले मे १ देखि नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ लागू गर्दै अब नेपालबाट भारत जाने हरेक चिया बोकेको गाडीको छुट्टाछुट्टै नमूना परीक्षण अनिवार्य गरेपछि समस्या उत्पन्न भएको हो। यसअघि एउटा नमूना परीक्षण पास भएपछि तीन महिनासम्म वा २० वटा गाडीसम्म चिया निर्यात गर्न पाइने व्यवस्था थियो।
नयाँ नियम लागू भएसँगै नेपालबाट सबै प्रक्रिया पूरा गरेर भारतीय नाका पुगेका चिया बोकेका गाडीहरू पानीट्यांकी नाकामै रोकिएका छन्। उद्योगीहरूले थप चिया पठाउन समेत रोकेका छन्।
मेची उद्योग वाणिज्य संघ मेचीनगरका कार्यकारी निर्देशक गोपाल बस्नेतका अनुसार भारतीय पक्षले सीमा नजिक कुनै प्रयोगशाला स्थापना नगरेकाले सबै नमूना परीक्षण कोलकातामै हुने गरेको छ। परीक्षण रिपोर्ट आउन कम्तीमा एकदेखि दुई साता लाग्ने भएकाले निर्यात प्रक्रिया झन्झटिलो बनेको उनले बताए।
उद्योगीहरूका अनुसार पानीट्यांकी नाकामा गाडी रोकेर लामो समय चिया राख्दा गुणस्तर बिग्रने, लागत बढ्ने र व्यवसायमा ठूलो जोखिम थपिने अवस्था सिर्जना भएको छ। नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले यही कारण अहिले चिया पठाउने काम रोकिएको बताए।
नेपालबाट भारत निर्यात हुने चिया, अदुवा, अलैंची, अम्लिसो लगायतका कृषि उत्पादनले विगतदेखि नै बेला–बेला भारतीय अवरोध झेल्दै आएका छन्। उद्योगीहरूका अनुसार विशेषगरी नेपाली चियाले दार्जिलिङ चियालाई प्रतिस्पर्धा दिएको भन्दै भारतीय पक्षभित्र असन्तुष्टि रहेको छ।
उद्योगी दिनेश अग्रवालले नेपाली चियाको गुणस्तर र बजार विस्तारले भारतीय बजारमा दबाब बढेको दाबी गर्दै यही कारण बेलाबेला नयाँ अवरोध सिर्जना हुने गरेको बताए।
चिया उत्पादक संघका अध्यक्ष पराजुलीले इलाम र दार्जिलिङको भूगोल तथा चियाको गुणस्तर लगभग एउटै प्रकृतिको भएकाले नेपाली चियामाथि फरक व्यवहार गर्नु उपयुक्त नभएको बताए।
सरकारी निकायका अनुसार भारतले यो प्रावधान लागू गर्ने जानकारी अघिल्लो महिनामै दिएको थियो। नेपाली पक्षको आग्रहपछि एक महिना समय थपेर मे १ देखि पूर्ण कार्यान्वयनमा ल्याइएको हो।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा वार्षिक उत्पादन हुने १ करोड ९० लाख किलो सिटिसी चियामध्ये करिब १ करोड किलो भारत निर्यात हुन्छ। त्यस्तै, ७० लाख किलो उत्पादन हुने अर्थोडक्स चियामध्ये ६० लाख किलो भारतीय बजारमा पुग्ने गरेको छ।
चिया क्षेत्रबाट हरेक वर्ष साढे चार अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा भित्रिने भएकाले उद्योगीहरूले समस्या समाधानका लागि सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन्।
