
उपसभामुख रुवि कुमारी ठाकुरले प्रधानन्यायाधीश सिफारिस प्रक्रियाबारे सामाजिक सञ्जालमा सार्वजनिक गरेको अभिव्यक्तिले राजनीतिक तथा कानुनी वृत्तमा चर्चा पाएको छ।
फेसबुकमार्फत धारणा राख्दै उनले प्रधानन्यायाधीश सिफारिस कार्यक्षमता मूल्यांकनका आधारमा गरिएको दाबी गरेकी छन्। न्याय प्रणालीप्रति जनतामा लामो समयदेखि असन्तुष्टि रहेको उल्लेख गर्दै उनले मुद्दा टुंगिन ढिलाइ हुनु गम्भीर समस्या बनेको बताएकी छन्।
उनले नियुक्ति प्रक्रिया योग्यता, क्षमता र कार्यसम्पादनभन्दा राजनीतिक प्रभाव वा पहुँचका आधारमा हुँदा नकारात्मक परिणाम देखिने टिप्पणीसमेत गरेकी छन्।
“प्रधानन्यायाधीश सिफारिस कार्यक्षमता मूल्यांकनका आधारमा गरिएको छ, यसमा कुनै किन्तु–परन्तुको आवश्यकता छैन,” उनले फेसबुक पोस्टमा लेखेकी छन्।
उपसभामुख ठाकुरले राज्यका सबै अंगले देश, जनता र संविधानको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उल्लेख गर्दै निष्पक्ष, सक्षम र जिम्मेवार न्याय प्रणाली नै लोकतन्त्रको मुख्य आधार भएको धारणा राखेकी छन्।
उनले आफ्नो अभिव्यक्ति नेपाली र मैथिली दुवै भाषामा सार्वजनिक गरेकी हुन्।
तर उनको पोस्टसँगै ‘च्याट जीपीटी’ को स्क्रिनसटसमेत राखिएको विषयले सामाजिक सञ्जालमा थप बहस सिर्जना गरेको छ। धेरैले सार्वजनिक पदमा रहेका व्यक्तिले कृत्रिम बुद्धिमत्ता प्रयोग गरेर धारणा सार्वजनिक गरेको विषयलाई लिएर विभिन्न टिप्पणी गरिरहेका छन्।
