
विश्वभरका महिलाहरूको नेतृत्व, योगदान र प्रेरणादायी यात्रालाई सम्मान गर्ने क्रममा यस वर्ष Kumari Regmi लाई प्रतिष्ठित “Empowerment in Action Honoree-2026” प्रदान गरिएको छ। यो सम्मान Pamela J. Hunter द्वारा आयोजित “2026 Exceptional Women of Central New York” कार्यक्रममा प्रदान गरिएको हो।
New York State Assembly द्वारा जारी गरिएको आधिकारिक सम्मानपत्रमा कुमारी रेग्मीलाई “अरूलाई सशक्त बनाउने, अवसर सिर्जना गर्ने, आवाज बुलन्द गर्ने तथा समुदायमा आत्मविश्वास जगाउने प्रेरणादायी महिला” का रूपमा उल्लेख गरिएको छ।

भुटानमा जन्मिनुभएकी रेग्मीले नेपालस्थित टिमाई शरणार्थी शिविरमा १७ वर्ष बिताउनुभएको थियो। सन् २००९ मा अमेरिकामा पुनःस्थापित भएपछि उहाँले संघर्ष र मेहनतका साथ शिक्षा तथा पेशागत यात्रालाई निरन्तर अगाडि बढाउनुभयो। अहिले उहाँ स्वास्थ्यकर्मी, शिक्षिका, व्यवसायी र सामुदायिक अभियन्ताका रूपमा परिचित हुनुहुन्छ।
हाल उहाँ Family Nurse Practitioner का रूपमा कार्यरत हुनुहुन्छ भने State University of New York Polytechnic Institute मा adjunct faculty का रूपमा अध्यापन पनि गरिरहनुभएको छ। साथै उहाँ Caring Family Health र KB Property Service NY LLC की सह–स्वामिनी हुनुहुन्छ।
तीन साना बालबालिकाकी आमा रहेकी रेग्मी समुदाय सेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ। उहाँ हाल Refugee Congress को Upstate New York Delegate तथा Global Bhutanese Hindu Organization को Health and Wellness Director का रूपमा कार्यरत हुनुहुन्छ।
उहाँले आफ्नो सफलताको श्रेय परिवारलाई दिँदै माता–पिता, सासू–ससुरा तथा श्रीमान् विकास रेग्मीको साथ र सहयोग बिना यो सम्भव नहुने बताउनुभएको छ।
कार्यक्रममा Pamela J. Hunter ले समुदायलाई सकारात्मक दिशा दिने महिलाहरूलाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताएकी थिइन्। कुमारी रेग्मीले भने यो सम्मान केवल व्यक्तिगत उपलब्धि नभई सम्पूर्ण शरणार्थी तथा आप्रवासी समुदायको संघर्ष, आशा र सफलताको प्रतीक भएको उल्लेख गर्नुभयो।

