मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

भुटानी शरणार्थीद्वारा स्थानीय एकीकरण र नागरिकता अधिकारको माग गर्दै संयुक्त राष्ट्रसंघलाई ज्ञापनपत्र (तस्विरहरु सहित)

Author Image
बिहिवार, जेठ ७, २०८३

झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा रहेका भुटानी शरणार्थीहरूले स्थानीय एकीकरणलाई दीर्घकालीन समाधानका रूपमा सुनिश्चित गर्न माग गर्दै संयुक्त राष्ट्रसंघलाई ज्ञापनपत्र बुझाएका छन्।

नेपालमै बसोबास गर्न चाहने शरणार्थीहरूको तर्फबाट शरणार्थी युवा वीरेन मगर नेतृत्वको समूहले बुधबार संयुक्त राष्ट्रसंघकी नेपालस्थित आवासीय संयोजक लिला पिटर्स याहियालाई सम्बोधन गरिएको ज्ञापनपत्र करिब ३ सय सामूहिक हस्ताक्षरसहित बुझाएको हो।

संयुक्त राष्ट्रसंघको नेपालस्थित आवासीय संयोजक लिला पिटर्स याहियाको नेतृत्वमा आएको उच्चस्तरीय टोलीले बुधबार बेलडाँगी शरणार्थी शिविरको भ्रमण गरेको थियो। सोही क्रममा टोलीमा सहभागी यूएनएचसीआरकी प्रतिनिधि मोनिक सोखनलाई पनि शरणार्थीहरूले समान मागसहितको पत्र हस्तान्तरण गरेका हुन्।

ज्ञापनपत्रमा नेपालमा बसोबास गरिरहेका बाँकी भुटानी शरणार्थीहरूको भविष्य अझै अन्योलपूर्ण रहेको उल्लेख गर्दै स्थानीय एकीकरण, नागरिकता अधिकार तथा कानुनी संरक्षणको व्यवस्था गरिनुपर्ने माग गरिएको छ।

शरणार्थीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी तथा आधारभूत मानवअधिकारमा पहुँचको अभावले विशेषगरी युवा पुस्ता गम्भीर समस्यामा परेको बताएका छन्।

पत्रमा सन् १९९० को दशकमा भुटानबाट विस्थापित भएर नेपाल आएका एक लाखभन्दा बढी भुटानी शरणार्थीमध्ये अधिकांश तेस्रो देश पुनर्वास कार्यक्रममार्फत विभिन्न मुलुकमा पुनर्वास भइसके पनि हाल करिब ६ हजार ५०० जना अझै झापा र मोरङका शिविरहरूमा बसोबास गरिरहेको उल्लेख गरिएको छ।

ज्ञापनपत्रमार्फत शरणार्थी समुदायले नेपाल सरकारसँग उचित व्यवस्थापन, नागरिकता अधिकार तथा सम्मानपूर्वक बाँच्न पाउने वातावरण सुनिश्चित गर्न माग गरेका छन्। साथै संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय निकायहरूसँग आवश्यक सहयोग, समन्वय र मानवीय चासो दिन आग्रह गरिएको छ।

शरणार्थी समुदायका अनुसार दशकौँदेखि अनिश्चित अवस्थामा जीवन बिताइरहेका बाँकी शरणार्थीहरूको भविष्य सुरक्षित गर्न अब दीर्घकालीन र व्यवहारिक समाधान आवश्यक भइसकेको छ।

यो समाचार SMC Beldangi News को सहयोगमा तयार पारिएको हो।