
नेकपा एमालेको आठौं सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङबीच चर्काचर्की परेको छ।
शुक्रबार गुण्डुमा बसेको बैठकमा अध्यक्ष ओलीले पार्टी र नेतृत्व संकटमा रहेका बेला पुनर्गठनको बहस चलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। उनले नेतृत्वको रक्षा नगर्ने र आन्दोलन कमजोर बनाउने गतिविधिमा लाग्नेलाई अनुशासनको कारबाही गरिने चेतावनीसमेत दिएका थिए।
ओलीको उक्त अभिव्यक्तिपछि उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङले कडा प्रतिवाद गर्दै एमाले कुनै एक व्यक्तिको निजी कम्पनी नभएको बताएका थिए।
उनले भने, “एमाले तपाईंले मात्रै बनाएको पार्टी हो? यो पार्टीमा अरू नेताहरूको पनि योगदान छ। कसलाई धम्की दिनुभएको हो?”
दुवै नेताबीच केहीबेर भनाभन भएपछि बैठकको माहोल तनावपूर्ण बनेको नेताहरूले बताएका छन्।
बैठकमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले एमाले सरकारविरुद्ध ‘डिप स्टेट’ सक्रिय रहेको दाबी गर्दै नेपाली सेना लगायत सुरक्षा निकायलाई त्यसको मतियार बनेको आरोप लगाएका थिए। उनले नेतृत्वमाथि अझै षड्यन्त्र भइरहेको भन्दै नेतृत्वको रक्षा गर्नुपर्ने बताएका थिए।
उनको भनाइपछि अध्यक्ष ओलीले बादलको अभिव्यक्तिलाई समर्थन गरेका थिए।
त्यस्तै उपाध्यक्ष विष्णु पौडेलले पार्टीको समग्र समीक्षा र पुनर्गठन आवश्यक रहेको धारणा राखेका थिए। उनले पार्टी लोकतान्त्रीकरण, ७० वर्षे उमेर हद र दुई कार्यकाल सम्बन्धी प्रावधान हटाउनु त्रुटिपूर्ण भएको बताएका थिए।
बैठकमा गोकर्ण विष्ट, रघुजी पन्त लगायत नेताहरूले पनि पार्टीको नीति, कार्यशैली र दृष्टिकोणमा व्यापक समीक्षा आवश्यक रहेको धारणा राखेका छन्।
एमाले सचिवालय बैठक शनिबार पनि बस्नेछ। आगामी बैठकमा महासचिव शंकर पोखरेल, उपमहासचिव तथा सचिवहरूले धारणा राख्ने कार्यक्रम रहेको बताइएको छ।
