
राजेशमान सिंह विरुद्ध पर्सा जिल्ला अदालत ले पक्राउ पुर्जी जारी गरेको छ।
नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि अदालतले मेयर सिंहसहित उनकी श्रीमती र वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो।
अदालतले उनीहरूलाई सात दिनभित्र पक्राउ गरी उपस्थित गराउन आदेश दिएको छ। तोकिएको अवधिमा पक्राउ गर्न नसके ३५ दिने पक्राउ पुर्जी तामेली प्रक्रिया अघि बढाइने जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा का अनुसार अदालतबाट पक्राउ पुर्जी प्राप्त भइसकेको र खोजतलासका लागि प्रहरी टोली परिचालन गरिएको छ।
मेयर राजेशमानमाथि अर्काकी छोरीलाई आफ्नै सन्तान देखाएर जन्मदर्ता, नागरिकता र राहदानी बनाइ विदेश पठाएको आरोप लागेको छ। सोही प्रकरणमा उनीविरुद्ध झूटा विवरण पेश गरी नागरिकता तथा राहदानी बनाएको र सरकारी लिखत किर्ते गरेको आरोपमा मुद्दा चलिरहेको छ।
मुलुकी अपराध संहिता २०७४ अन्तर्गत सरकारी वा सार्वजनिक लिखतसम्बन्धी कसुर प्रमाणित भए सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको छ।
