
अमेरिकाको न्यूयोर्क सिटीस्थित ‘नेपाली भान्साघर रेस्टुरेन्ट’ प्रतिष्ठित न्यूयोर्क टाइम्स ले सार्वजनिक गरेको ‘उत्कृष्ट १०० रेस्टुरेन्ट’ सूचीमा पर्न सफल भएको छ। सूचीमा उक्त रेस्टुरेन्ट ६७औं स्थानमा रहेको छ।
यो उपलब्धिपछि नेपाली खानाको अन्तर्राष्ट्रिय पहिचान अझ मजबुत बनेको रेस्टुरेन्टकी सञ्चालक बिमला हमाल श्रेष्ठले बताएकी छन्।
“धेरै पढ्न नपाए पनि संघर्ष गर्दै यहाँसम्म आइपुगेँ। यो सफलताले खुसी मात्र होइन, अझ राम्रो गर्न प्रेरणा पनि दिएको छ,” उनले भनिन्।
नेपाली स्वादले विदेशी बजार जित्दै
न्यूयोर्कको ज्याक्सन हाइटमा रहेको यो रेस्टुरेन्टमा नेपाली मौलिक परिकारसँगै चाइनिज र तिब्बती खानासमेत पाइन्छ। यसको मुख्य आकर्षण ‘नेपाली थाली सेट’ हो, जसमा दाल, भात, तरकारी, अचार, पापड तथा सलादसँगै ग्राहकको रोजाइअनुसार मासु परिकार समेत उपलब्ध हुन्छ।
सुरूमा नेपाली ग्राहकमा सीमित रहेको रेस्टुरेन्टमा अहिले अमेरिकी, पाकिस्तानी र भारतीय ग्राहकसमेत उल्लेख्य रूपमा आउने गरेका छन्। हाल करिब ८५ प्रतिशत ग्राहक अमेरिकी नागरिक रहेको सञ्चालक श्रेष्ठले बताइन्।
“अमेरिकीहरूले नेपाली खाना हातले खाने, स्वाद मन पराउने र खानाको महत्व बुझ्ने गरेका छन्,” उनले भनिन्।

मःमदेखि ढिँडोसम्म—नेपाली पहिचानको स्वाद
रेस्टुरेन्टमा सेलरोटी, मःम, थुक्पा, चाउमिन, कोदो–फापरको ढिँडो लगायत विविध परिकार उपलब्ध छन्। समूह तथा पारिवारिक जमघट र पार्टीका लागि पनि छुट्टै व्यवस्था रहेको छ।
हाल यहाँ १५ जना नेपाली कर्मचारी कार्यरत छन्।
संघर्षबाट अन्तर्राष्ट्रिय सफलतासम्म
स्याङ्जाको वालिङकी बिमला सन् २००८ मा भिजिट भिसामा अमेरिका पुगेकी हुन्। नेपालमा काठ उद्योग सञ्चालन गरिसकेकी उनी सात वर्षसम्म हाउसकिपिङ काममा संलग्न रहिन्।
सन् २०१५ मा उनले ‘नेपाली भान्साघर’ स्थापना गरिन्। सुरुमा सानो स्तरबाट सुरु भएको व्यवसाय विस्तार हुँदै आज अन्तर्राष्ट्रिय स्तरमा परिचित बनेको छ।
उनले न्यूयोर्कमा हुने मःम प्रतियोगितामा समेत ४ देखि ५ पटक प्रथम स्थान हासिल गरिसकेकी छन्।
कोरोना महामारीका कारण दुई मध्ये एक रेस्टुरेन्ट बन्द गर्नुपरे पनि अब पुनः नयाँ ढाँचामा अर्को शाखा विस्तार गर्ने तयारी भइरहेको उनले बताएकी छन्।
नेपाली स्वादको विश्व यात्रा
नेपाली परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल यस रेस्टुरेन्टको उपलब्धिले विदेशमा रहेका नेपाली व्यवसायीहरूका लागि पनि प्रेरणाको उदाहरण बनेको छ।
