
नेकपा एमालेले प्रतिनिधिसभामा लगातार रोस्ट्रम घेराउ र नाराबाजी गरिरहँदा एमाले सांसद सुहाङ नेम्वाङ भने त्यसबाट टाढै देखिएका छन्।
प्रतिनिधिसभा नियमावली २०८३ विरुद्ध एमालेसहित प्रतिपक्षी दलहरूले रोस्ट्रम घेराउ गर्दै विरोध जनाइरहेका बेला इलाम–२ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङ भने आफ्नो सिटमै उभिएर विरोध जनाउने तर रोस्ट्रममा गएर नाराबाजी नगर्ने अडानमा छन्।
एमाले स्रोतका अनुसार नेम्वाङको धारणा स्पष्ट छ—“संसद सुशासनको मन्दिर हो, यहाँ नाराबाजी र रोस्ट्रम घेराउ उचित हुँदैन।”
पूर्वसभामुख सुवास नेम्वाङका छोरा समेत रहेका सुहाङले विगतमा राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको रोस्ट्रम घेराउको समेत आलोचना गरेका थिए। अहिले एमालेले उस्तै शैली अपनाउँदा पनि आफू सहभागी नहुने नीति उनले लिएका छन्।
नेम्वाङ निकट नेताहरूका अनुसार उनी रचनात्मक प्रतिपक्षको पक्षमा छन्। सरकारको आलोचना गर्नुपर्ने भए तथ्य, तर्क र बहसमार्फत गर्नुपर्ने उनको बुझाइ छ। “जनताले संसद अवरुद्ध गर्न होइन, आफ्ना मुद्दा उठाउन निर्वाचित गरेका हुन्,” भन्ने धारणा उनले राख्दै आएका छन्।
यद्यपि उनले पार्टीको आधिकारिक विरोधमा साथ दिइरहेका छन्। जेठ १८ गतेको बैठकमा उनी आफ्नो स्थानमै उभिएर विरोधमा सहभागी भएका थिए। तर रोस्ट्रम घेराउ र नाराबाजीमा भने देखिएनन्।
एमाले प्रमुख सचेतक ऐन महरले पनि नेम्वाङले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गरिरहेको तर रोस्ट्रम घेराउमा सहभागी नभएको स्वीकार गरेका छन्।
पछिल्लो समय संसदमा विरोधको आक्रामक शैली हाबी भइरहेका बेला सुहाङ नेम्वाङले अपनाएको संयमित र संसदीय मर्यादामुखी शैलीले उनलाई अन्य सांसदभन्दा फरक रूपमा प्रस्तुत गरेको छ।
