मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

उदयपुरबाट अमेरिकाको इन्टेलसम्म: इन्जिनियर उपमा कार्कीको प्रेरणादायी यात्रा

Author Image
आइतवार, जेठ २४, २०८३

अमेरिकाको ओरेगन राज्यस्थित हिल्सबोरो सहरमा बसोबास गर्दै आएकी उदयपुरकी उपमा कार्की अहिले विश्वप्रसिद्ध प्रविधि कम्पनी इन्टेल कर्पोरेसनमा इन्जिनियरका रूपमा कार्यरत छिन्। अमेरिका गएको आठ वर्ष पुगेकी उपमाले करिब डेढ वर्षदेखि इन्टेलमा काम गरिरहेकी छन्।

विश्वकै अग्रणी सेमिकन्डक्टर तथा चिप निर्माता कम्पनी इन्टेलमा उनको जिम्मेवारी चिप उत्पादनको गुणस्तर सुधार गर्ने, उत्पादन प्रक्रियामा हुने त्रुटि कम गर्ने तथा उत्पादन क्षमता बढाउने रहेको छ।

“हामी चिप्सलाई अझ गुणस्तरीय र भरपर्दो कसरी बनाउन सकिन्छ भन्ने विषयमा काम गर्छौं,” उपमा भन्छिन्।

११ सदस्यीय टोलीमा कार्यरत उपमाका लागि कुनै कार्यालय अनुभवबिना एकैपटक विश्वस्तरको कम्पनीमा प्रवेश गर्नु सुरुमा चुनौतीपूर्ण थियो। तर समयसँगै उनले आफूलाई स्थापित गरिन्। उनका अनुसार यो क्षेत्रमा सानो त्रुटिले पनि कम्पनीलाई ठूलो आर्थिक नोक्सानी पुर्‍याउन सक्छ, त्यसैले अत्यन्त अनुशासित र जिम्मेवार भएर काम गर्नुपर्छ।

उदयपुरदेखि पीएचडीसम्मको यात्रा

उपमाले त्रिभुवन विश्वविद्यालयबाट भौतिकशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेपछि उच्च अध्ययनका लागि अमेरिका गएकी थिइन्। उनले अमेरिकाको अलाबामा विश्वविद्यालयबाट ‘स्पिनट्रोनिक्स’ विषयमा विद्यावारिधि (पीएचडी) पूरा गरिन्। स्पिनट्रोनिक्स भौतिकशास्त्र र इलेक्ट्रोनिक्ससँग सम्बन्धित अत्याधुनिक अनुसन्धानको क्षेत्र हो।

पीएचडी अध्ययनकै क्रममा सन्तान जन्मिएपछि पढाइ, परिवार र नयाँ वातावरणबीच सन्तुलन मिलाउन निकै कठिन भएको उनी सम्झिन्छिन्।

“कोभिडको समय थियो। बच्चा सानो थियो। नेपालबाट सहयोगका लागि परिवार बोलाउन पनि सम्भव थिएन। पढाइ, बच्चा र नयाँ वातावरणबीच सन्तुलन मिलाउनु निकै चुनौतीपूर्ण बन्यो,” उनले सुनाइन्।

परिवार र करिअरको सन्तुलन

हाल उपमा र उनका श्रीमान दुवै इन्टेलमै कार्यरत छन्। उनीहरूकी एक छोरी छिन् र उपमा अहिले दोस्रो सन्तानको आमा बन्ने तयारीमा छिन्।

बिहान छोरीलाई स्कुल पुर्‍याउने, दिनभरि कार्यालयमा काम गर्ने र साँझ फेरि लिएर आउने दैनिकीबीच कहिलेकाहीँ छोरीलाई पर्याप्त समय दिन नसकेको अनुभूति हुने उनी बताउँछिन्।

“विदेशमा करिअर बनाउनुका साथै परिवारलाई समय दिनु चुनौतीपूर्ण हुन्छ। तर सही व्यवस्थापन र परिवारको साथ भए असम्भव केही छैन,” उनी भन्छिन्।

विदेशको सफलता, गाउँका युवाका लागि प्रेरणा

उपमा आफूले हासिल गरेको सफलताको श्रेय आफ्ना बुबाआमालाई दिन्छिन्। उदयपुरको गाउँमा हुर्किँदा छोरीलाई धेरै पढाउनु हुँदैन भन्ने सोच भए पनि उनका बुबाआमाले उच्च शिक्षाका लागि सधैं प्रोत्साहन गरे।

“हाम्रो गाउँमा छोरी पढाउनु हुँदैन भन्ने सोच थियो। तर बुबाआमाले कहिल्यै सम्झौता गर्नुभएन। उहाँहरूले नै सपना देख्न र पूरा गर्न हिम्मत दिनुभयो,” उनले भावुक हुँदै भनिन्।

भविष्यमा नेपाल फर्किएपछि गाउँका विद्यार्थीहरूलाई प्रेरणा दिने र उच्च शिक्षा तथा अनुसन्धानका अवसरबारे जानकारी गराउने योजना पनि उनको छ।

उदयपुरको पहाडी गाउँबाट सुरु भएको यात्रा आज विश्वप्रसिद्ध कम्पनी इन्टेलसम्म पुगेको छ। उपमाको कथा मेहनत, लगनशीलता र शिक्षाले संसारका जुनसुकै अवसरको ढोका खोल्न सक्छ भन्ने उदाहरण बनेको छ।