मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

२८ वर्षदेखिको गोलको ‘भोक’ तोडियो : विश्वकपमा लामो गोल खडेरी अन्त्य गर्ने देशहरूको कथा

Author Image
मङ्गलवार, असार २, २०८३

फुटबलमा गोल केवल अंक होइन, यो प्रतीक्षा हो, पीडा हो, र कहिलेकाहीँ पुस्तौँसम्म फैलिएको आशा हो। फिफा विश्वकप २०२६ ले यसपटक त्यस्तै लामो मौनता तोड्ने इतिहास लेखिरहेको छ। ४८ राष्ट्रको महाकुम्भमा कम्तीमा १६ देशहरू यस्ता छन्, जसले वर्षौँदेखि हराएको गोलको स्वाद फेरि चाख्न पाएका छन्क । सैले ८ वर्षपछि, कसैले १६ वर्षपछि, त कसैले झण्डै २८ वर्षपछि।

स्विडेनले २,९०३ दिनको मौनता तोड्दै ट्युनिसियाविरुद्ध यासिन आयारीको गोलमार्फत पुनः आवाज फर्कायो। इजिप्टका लागि २,९१२ दिनको प्रतीक्षा इमाम आसुरको प्रहारले अन्त्य गर्‍यो, जसले केवल गोल मात्र होइन, ३६ वर्षपछि विश्वकप अंकको स्वाद पनि दिलायो।

बोस्निया र हर्जगोभिनाले ४,३७० दिनको सन्नाटा तोड्दै जोभो लुकिचको हेडरमार्फत पुनः उपस्थिति जनायो। आइभोरी कोस्टले ४,३७३ दिनपछि अमाद डियालोको निर्णायक गोलसँगै आफ्नो फुटबल पहिचानलाई फेरि उजागर गर्‍यो।

पाराग्वेका लागि ५,८३६ दिनको लामो प्रतीक्षा माउरिसियोको सान्त्वना गोलसँगै अन्त्य भयो। न्युजिल्याण्डले ५,८३९ दिनपछि एलिजा जस्टको गोलमा पुनः विश्वकपमा आफ्नो नाम लेखायो।

चेक गणतन्त्रको मौनता अझ गहिरो थियो-७,३०४ दिन। तर लाडिस्लाभ क्रेजीको गोलले लगभग दुई दशकको खालीपनलाई एकै झट्कामा मेटाइदियो।

तर सबैभन्दा प्रतीकात्मक कथा स्कटल्याण्डको हो – १०,२२४ दिनको प्रतीक्षा। २८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्याण्डले हाइटीविरुद्ध १–० को जित निकाल्दै जोन म्यागिनको गोलमा इतिहास फेरि लेख्यो। त्यो केवल गोल थिएन, त्यो पुस्तौँ पुरानो धैर्यको विस्फोट थियो-स्टेडियममा होइन, सम्पूर्ण राष्ट्रको मुटुमा।

फुटबलले फेरि प्रमाणित गर्‍यो, यो खेल केवल जित र हारको होइन, प्रतीक्षाको धैर्य र पुनर्जन्मको कथा पनि हो।