
अमेरिकाको नेब्रास्का राज्यस्थित ओमाहामा आयोजित ११औँ किरात राष्ट्रिय अधिवेशन–२०२६ अन्तर्गतको ग्रान्ड फाइनल डे भव्य रूपमा सम्पन्न भएको छ। देशभरबाट आएका किरात समुदायका प्रतिनिधि, कलाकार, विद्यार्थी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।
समापन समारोहमा विभिन्न किरात समुदायका मौलिक सांस्कृतिक प्रस्तुति, विशेषगरी साकेला/केलाङ नृत्य, सांस्कृतिक झाँकी तथा परम्परागत बाजागाजाले कार्यक्रमलाई आकर्षक बनाएका थिए। कार्यक्रममा विभिन्न प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
त्यसैगरी, उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा छात्रवृत्ति वितरण गरिएको थियो भने कार्यक्रम सफल बनाउन सहयोग पुर्याएको आयोजक राज्य नेब्रास्काप्रति विशेष कृतज्ञता व्यक्त गरिएको थियो। समापन समारोहमा आगामी २०२७ को राष्ट्रिय अधिवेशन आयोजना गर्ने राज्य पनि औपचारिक रूपमा घोषणा गरिएको आयोजकले जनाएको छ।
किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिका (KCOA) द्वारा आयोजित तथा किरात कल्चरल सोसाइटी अफ नेब्रास्का (KCSN) को आतिथ्यमा सम्पन्न महाधिवेशनले अमेरिका भर रहेका किरात समुदायबीच भाषा, संस्कृति, पहिचान र आपसी एकतालाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।
तस्विरहरुः




