मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

नक्कली भुटानी शरणार्थी प्रकरण : टेकनाथ रिजाल पक्षको प्रश्न- ‘वास्तविक शरणार्थीले न्याय कहिले पाउँछन्?’

Author Image
शुक्रवार, असार १९, २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी रहेका भुटानी शरणार्थी नेता तथा पूर्वराजबन्दी टेकनाथ रिजालको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता राजकुमार सुवालले वास्तविक भुटानी शरणार्थीहरूको समस्या समाधान गर्नुपर्ने विषय ओझेलमा परेको बताएका छन्।

काठमाडौँ जिल्ला अदालतमा बहसका क्रममा उनले बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले विस्तृत अध्ययनपछि दर्ताबाट छुटेका ४२९ जना वास्तविक भुटानी शरणार्थीको पहिचान गरी दर्ता गर्न सिफारिस गरेको दाबी गरे। उनका अनुसार ती व्यक्तिहरू संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर) बाट प्रमाणित भएका शरणार्थी हुन्।

सुवालले भुटानी शरणार्थी र नेपाली नागरिकबीचको पहिचान छुट्याउन कठिन रहेको उल्लेख गर्दै धेरै शरणार्थी क्याम्पबाहिर बसेर रोजगारी, अध्यापन तथा अन्य पेसामा संलग्न रहेको बताए। पुनर्वास प्रक्रिया सुरु हुनुअघि धेरैले नेपालीसँग विवाह गरेको र उनीहरूका सन्तानसमेत जन्मिएको उनको भनाइ थियो।

उनले नेपाल–भुटानबीचको वार्ता निष्कर्षमा नपुगेपछि तेस्रो मुलुक पुनर्वास कार्यक्रम सुरु भएको स्मरण गराउँदै वास्तविक शरणार्थीहरूको समस्या समाधान गर्नुपर्ने विषयलाई नै नक्कली शरणार्थी प्रकरणले छायामा पारेको आरोप लगाए।

बहसका क्रममा सुवालले प्रश्न गर्दै भने, “अमेरिकाले शरणार्थीलाई आफ्नो देश लैजान सक्छ भने भारतमार्फत भुटानलाई आफ्ना नागरिक फिर्ता लैजान किन दबाब दिन सकिँदैन? समस्या समाधान गर्नुको सट्टा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भाष्य निर्माण गरियो।”

उनले टेकनाथ रिजाल लामो समयदेखि भुटानी शरणार्थीको अधिकारका लागि संघर्षरत व्यक्ति रहेको उल्लेख गर्दै भुटानमा १० वर्ष जेल जीवन बिताएको तथा नेपालमा तीन दशकदेखि शरणार्थीका रूपमा बसिरहेको बताए।

सुवालले पन्थी कार्यदलको प्रतिवेदनका फरक–फरक संस्करण सार्वजनिक भएको दाबी गर्दै अनुसन्धान प्रक्रियामै गम्भीर त्रुटि भएको आरोप पनि लगाए। उनका अनुसार सक्कली प्रतिवेदनको सट्टा नक्कली प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको हुनसक्ने आशंका छ।

उनले जाहेरीकर्ता पक्षबाट पेश गरिएको प्रतिवेदनको स्रोतबारे पर्याप्त अनुसन्धान नभएको, केही महत्त्वपूर्ण व्यक्तिको बयान नलिइएको तथा ह्वाट्सएप संवाद र अन्य प्रमाणको विश्वसनीयतामाथि पनि प्रश्न उठाए।

सुवालले टेकनाथ रिजालले यसअघि नै केही व्यक्तिले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी दिएको जानकारी दिँदै, ती व्यक्तिहरूले रिजालको नाम प्रयोग गरेर अमेरिका पठाइदिने भन्दै रकम उठाएको दाबी गरे।

नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ जारी रहेको छ। टेकनाथ रिजालको तर्फबाट बहस सकिएपछि अब सरकारी पक्षको जवाफी बहस हुने अदालतले जनाएको छ।

साभारः “पहिचान” news portal

 (विभिन्न सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)