
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीलाई नेपाली मौलिकता र राष्ट्रिय पहिचान झल्काउने ढाका टोपी अनिवार्य रूपमा लगाउन निर्देशन दिएका छन्।
शुक्रबार अध्यागमन कार्यालयको निरीक्षण तथा अनुगमनका क्रममा पुगेका गृहमन्त्री गुरुङले कर्मचारीको पोसाकले देशको पहिचान झल्किनुपर्ने भन्दै ढाका टोपी अनिवार्य गर्न निर्देशन दिएका हुन्।
अध्यागमन कार्यालयका सूचना अधिकारी अनुज भण्डारीका अनुसार मन्त्रीको निर्देशनपछि शनिबारदेखि नै केही कर्मचारीले ढाका टोपी लगाउन सुरु गरेका थिए भने आइतबारसम्म अधिकांश कर्मचारी ढाका टोपीसहित कार्यालयमा उपस्थित भएका छन्।
नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले देशमा प्रवेश गर्दा सबैभन्दा पहिले अध्यागमन कार्यालयका कर्मचारीसँग भेट हुने भएकाले उनीहरूको पोसाक, व्यवहार र सेवाले नेपालको छवि प्रस्तुत गर्ने भन्दै गृहमन्त्रीले राष्ट्रिय पहिचान झल्किने ढाका टोपी प्रयोगमा जोड दिएका हुन्।
