
नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच करिब २५ अर्ब १७ करोड रुपैयाँ (१६ करोड ५० लाख अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ।
एडिबीका अध्यक्ष मासातो कान्डाको नेपाल भ्रमणका क्रममा सोमबार एकीकृत खानेपानी तथा ढल निकास व्यवस्थापन आयोजना तथा दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक समन्वय सुधार कार्यक्रमका लागि ऋण सम्झौता सम्पन्न भएको हो।
अर्थमन्त्री स्वर्णिम वाग्ले र एडिबी अध्यक्ष कान्डाको उपस्थितिमा सम्पन्न कार्यक्रममा नेपालका तर्फबाट अर्थसचिव घनश्याम उपाध्याय तथा एडिबीका नेपालस्थित आवासीय निर्देशक आनो कुश्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
सम्झौताअनुसार ११ करोड ५० लाख अमेरिकी डलर स्थानीय तहमा खानेपानी तथा ढल निकासको एकीकृत पूर्वाधार निर्माणका लागि परिचालन गरिने अर्थ मन्त्रालयले जनाएको छ।
त्यस्तै, ५० लाख अमेरिकी डलर दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक समन्वय सुधार कार्यक्रमअन्तर्गत भन्सार कार्यप्रक्रिया तथा लजिस्टिक्स सेवा आधुनिकीकरणका लागि बजेट सहायताका रूपमा खर्च गरिनेछ।
सम्झौतापछि अर्थमन्त्री वाग्लेले नेपालको विकासमा एडिबीको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
एडिबी अध्यक्ष कान्डाले नेपालसँगको करिब ६ दशक लामो सहकार्यलाई थप प्रभावकारी बनाउँदै नेपालको विकास प्राथमिकताअनुसार निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
