अमेरिकाको ओहायोमा बसोबास गर्दै आएका रन परियारले नेपाल सरकार, विशेषतः गृह मन्त्रालयलाई भुटानी शरणार्थीहरूको दीर्घकालीन र सम्मानजनक समाधान खोज्न अपिल गरेका छन्।
उनले तीन दशकदेखि नेपालमा आश्रय लिइरहेका भुटानी शरणार्थीहरूको अवस्था अझै समाधानविहीन रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। १९८० को दशकको अन्त्यतिर भुटान सरकारले लागू गरेका कडा नागरिकता तथा सांस्कृतिक नीतिका कारण दक्षिण भुटानका नेपालीभाषी समुदाय विस्थापित भई नेपालमा शरण लिन बाध्य भएका थिए।

नेपाल सरकारले लामो समयसम्म मानवीय सहयोग उपलब्ध गराए पनि शरणार्थीहरूलाई स्थायी पहिचान र नागरिकता नदिइएको उल्लेख गर्दै परियारले धेरै शरणार्थीहरूले तेस्रो देश पुनर्वास रोज्नुपरेको बताए। तर झापा र मोरङका शिविरहरूमा अझै केही शरणार्थीहरू अनिश्चितता र पहिचानविहीन अवस्थामा जीवनयापन गरिरहेको उनको भनाइ छ।
उनले नेपालमा हाल देखिएको राजनीतिक परिवर्तन र नयाँ नेतृत्वप्रति बढ्दो जनअपेक्षाका बीच यो पुरानो मुद्दालाई गम्भीरतापूर्वक सम्बोधन गरिनुपर्ने बताएका छन्।
परियारले गृह मन्त्रालयसँग भुटान सरकारसँग पुनः कूटनीतिक संवाद सुरु गरी बाँकी शरणार्थीहरूको स्वेच्छिक, सुरक्षित र सम्मानजनक समाधान खोज्न पहल गर्न आग्रह गरेका छन्। साथै, समाधान नआएसम्म शरणार्थीहरूको सुरक्षा, आधारभूत सेवा र मानवअधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
नेपालको मानवीय परम्परा र अन्तर्राष्ट्रिय प्रतिष्ठालाई ध्यानमा राख्दै यस दीर्घकालीन समस्याको न्यायोचित समाधानका लागि सरकारबाट ठोस पहल हुने विश्वास उनले व्यक्त गरेका छन्।
