मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

राजदूतसँगको संवादमा बालेन: निरन्तरता तोडिने छैन

Author Image
बुधवार, चैत २५, २०८२

काठमाडौ – प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूसँगको भेटमा आफ्नो सरकार मित्र राष्ट्रहरूसँगको सम्बन्ध अझ प्रगाढ बनाउन इच्छुक रहेको स्पष्ट पारेका छन्।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सामूहिक शिष्टाचार भेटका क्रममा उनले नेपालले सधैं सन्तुलित र व्यावहारिक वैदेशिक नीति अवलम्बन गर्दै आएको उल्लेख गरे। उनका अनुसार नेपालका अन्तर्राष्ट्रिय सम्बन्धहरू पारस्परिक हित र साझा समृद्धिको लक्ष्यमा आधारित छन्। साथै, नेपालको विकास यात्रामा निरन्तर सहयोग पुर्‍याइरहेका साझेदार देशहरूप्रति उनले आभार व्यक्त गरे।

प्रधानमन्त्री शाहले विश्वका विभिन्न भागमा भइरहेका द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता परिस्थितिले सर्वसाधारणलाई सबैभन्दा बढी असर पार्ने भएकाले विश्व शान्तिलाई साझा प्राथमिकता बनाउनुपर्नेमा जोड दिए। उनले यस दिशामा सबै राष्ट्रहरूको संयुक्त प्रयास आवश्यक रहेको समेत बताएकाछन् ।

आर्थिक पक्षमा उनले लगानीमैत्री वातावरण निर्माण, उद्यमशीलताको प्रवर्द्धन र दिगो विकासलाई सरकारको प्रमुख प्राथमिकता रहेको स्पष्ट गरे। साथै, राष्ट्रिय हितलाई ध्यानमा राख्दै नेपाललाई क्षेत्रीय तथा वैश्विक अर्थतन्त्रसँग अझ मजबुत रूपमा जोड्ने लक्ष्य रहेको पनि उल्लेख गरे।

‘नयाँ सरकार गठन हुनु भनेको नीतिगत निरन्तरता तोड्नु होइन,’ भन्दै उनले राजनीतिक स्थायित्व र पूर्वानुमानयोग्य नीतिगत दिशा कायम राख्ने प्रतिबद्धता दोहोर्‍याए। विकास, व्यापार, लगानी, जलवायु परिवर्तन र जनस्तरको सम्बन्ध विस्तारमा सहकार्य बढाउन सरकार तत्पर रहेको उनको भनाइ थियो।

यससँगै विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई सरकारले उच्च प्राथमिकतामा राखेको विषयमा पनि उनले जोड दिएका छन्।