मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

चन्द्र परिक्रमा गरेर फर्कियो मानव: आर्टेमिस-२ मिशनको ऐतिहासिक सफलता

Author Image
शनिवार, चैत २८, २०८२

मानव अन्तरिक्ष अन्वेषणमा नयाँ अध्याय थप्दै NASA को महत्वाकांक्षी आर्टेमिस-२ मिशन सफलतापूर्वक सम्पन्न भएको छ। चन्द्रमाको परिक्रमा गरेर फर्किएका चार अन्तरिक्ष यात्री बोकेको ‘ओरायन’ अन्तरिक्षयान प्रशान्त महासागरमा सुरक्षित रूपमा अवतरण (स्प्ल्यासडाउन) भएको BBC ले जनाएको छ।

NASA को आर्टेमिस-२ मिशन अन्तर्गत चन्द्रमाको परिक्रमा गरेर फर्किएको ‘ओरायन’ अन्तरिक्षयान नेपाली समयअनुसार आज बिहान करिब ५:४५ बजे प्रशान्त महासागरमा सुरक्षित रूपमा अवतरण (स्प्ल्यासडाउन) भएको छ। समय अन्तरका कारण उक्त अवतरण अमेरिकी प्रशान्त समयअनुसार भने अप्रिल १० तारिख साँझ करिब ४:००-५:०० बजे भएको हो।

नेपाली समयअनुसार आज बिहान करिब ५:४५ बजे भएको अवतरणलाई नासाले “टेक्स्टबुक ल्याण्डिङ” को संज्ञा दिएको छ। कमाण्डर Reid Wiseman ले सबै सदस्य सुरक्षित र स्वस्थ रहेको पुष्टि गर्दै यात्रालाई “शानदार अनुभव” बताएका छन्।

यो ऐतिहासिक मिशन नौ दिनभन्दा बढी समयसम्म सञ्चालन भएको थियो, जसमा अन्तरिक्ष यात्रीहरूले पृथ्वीबाट करिब ४ लाख ६ हजार किलोमिटरभन्दा टाढासम्म यात्रा गर्दै मानव इतिहासकै सबैभन्दा टाढाको दूरी पार गरेका छन्। उनीहरूले चन्द्रमाको पछाडिबाट परिक्रमा गर्दै दुर्लभ पूर्ण सूर्यग्रहणसमेत अवलोकन गरेका थिए।

मिशनका क्रममा चन्द्रमाको पछाडि पुग्दा करिब ४० मिनेटसम्म पृथ्वीसँग सम्पर्क विच्छेद हुनु पूर्वानुमानअनुसार नै भएको थियो। पुनः सम्पर्क स्थापित भएपछि मिशन विशेषज्ञ Christina Koch ले पृथ्वीको आवाज फेरि सुन्न पाउँदा “अत्यन्तै भावुक क्षण” भएको प्रतिक्रिया दिएकी थिइन्।

पाइलट Victor Glover ले अन्तरिक्षबाट देखिएको दृश्यलाई शब्दमा बयान गर्नै नसकिने बताएका छन् भने कमाण्डर वाइजम्यानले “मानवले अहिलेसम्म नदेखेका दृश्य” देखिएको उल्लेख गरेका छन्।

को-को थिए मिशनमा?

आर्टेमिस-२ टोलीमा तीन अमेरिकी र एक क्यानाडेली अन्तरिक्ष यात्री सहभागी थिए:

  • Reid Wiseman (कमाण्डर)
  • Victor Glover (पाइलट)
  • Christina Koch (मिशन विशेषज्ञ)
  • Jeremy Hansen (मिशन विशेषज्ञ, क्यानडा)

यस ऐतिहासिक सफलतापछि Donald Trump ले अन्तरिक्ष यात्रीहरूलाई बधाई दिँदै ह्वाइट हाउसमा आमन्त्रण गरेका छन्। उनले भविष्यतर्फ संकेत गर्दै मंगल ग्रहलाई अर्को लक्ष्य बनाउने घोषणा समेत गरेका छन्।

आर्टेमिस–२ को सफलता मानवको चन्द्र र मंगल यात्रातर्फको नयाँ सम्भावनाको स्पष्ट संकेत बनेको छ।