भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएका छन्। यो निम्तोसँगै नेपाल-भारत सम्बन्धमा नयाँ गतिशीलताको संकेत देखिएको छ।

मौरिससमा आयोजित हिन्द महासागर सम्मेलनको साइडलाइनमा भारतीय पत्रकारसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल ले प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणबारे खुलासा गरेका हुन्। उनका अनुसार, नेपालमा निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाह र रवि लामिछाने लाई फोनमार्फत बधाई दिँदै सोही अवसरमा भारत भ्रमणको निम्तो दिएका थिए।
मन्त्री खनालका अनुसार प्रधानमन्त्री शाहले उक्त निम्तो स्वीकार गरिसकेका छन्, तर भ्रमणको मिति भने अझै तय भइसकेको छैन।
यसैबीच, मौरिससमै भारतीय विदेशमन्त्री एस. जयशंकर सँग भएको पहिलो भेटवार्तामा द्विपक्षीय सम्बन्ध र उच्चस्तरीय भ्रमणबारे प्रारम्भिक छलफल भएको थियो। दुवै पक्षबीच नेपालले आन्तरिक प्राथमिकता तय गरेपछि मात्र भ्रमणलाई औपचारिक रूप दिने सहमति बनेको जनाइएको छ।
नयाँ सरकार गठन भएको दुई हप्ता मात्रै भएकाले सरकारले अहिले आन्तरिक नीति र प्राथमिकतामा केन्द्रित रहेको खनालले बताए। नेपाल-भारतबीच करिब ४० वटा सक्रिय द्विपक्षीय संयन्त्रहरू रहेको उल्लेख गर्दै उनले ती संयन्त्रमार्फत सम्बन्धलाई थप सुदृढ बनाइने बताए।
परराष्ट्र नीतिका सन्दर्भमा मन्त्री खनालले सरकार परिवर्तन भए पनि नीतिको निरन्तरता कायम रहने स्पष्ट पारे। नेपालको संविधानअनुसार सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, असंलग्नता र स्वतन्त्र परराष्ट्र नीति नै सरकारको मूल आधार रहने उनले दोहोर्याए।
सरकारले अब छिमेकी राष्ट्रहरू र अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सम्बन्धलाई राष्ट्रिय हित र आर्थिक विकाससँग जोडेर अघि बढाउने रणनीति लिएको सन्देश पनि उनले दिएका छन्।
प्रधानमन्त्री बालेनको सम्भावित भारत भ्रमण अब केवल औपचारिकता मात्रै होइन, नेपाल-भारत सम्बन्धको नयाँ अध्याय सुरु हुने संकेतका रूपमा हेरिएको छ।
