अमेरिकाको Omaha मा “A Soulful Night with Jagdish Samal” कार्यक्रम भव्य र भावनात्मक वातावरणमा सम्पन्न भएको छ। Nebraska Nepali Music Lovers को आयोजनामा सम्पन्न उक्त कार्यक्रमले नेपाली समुदायलाई एकै ठाउँमा ल्याउँदै संगीतमार्फत आत्मीयता बाँड्ने अवसर दिएको थियो।

कार्यक्रमको सुरुवातमै गायक जगदीश समालको विशेष guest reception गरिएको थियो। खादा अर्पण गर्दै गरिएको स्वागत र रेड कार्पेटमार्फत स्टेजसम्मको यात्रा आफैंमा आकर्षणको केन्द्र बनेको थियो। उपस्थित दर्शकले ताली र उत्साहका साथ उनलाई स्वागत गरेका थिए।
Honoring Guest का रूपमा विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा BCN अध्यक्ष बुधिमान मगर, उपाध्यक्ष चन्द्रकला राई, NRN NCC USA का अध्यक्ष कृष्ण कँडेल, NNS का प्रतिनिधिहरू तथा Great Event Center का दुर्गा गुरुङ र खर्क गजमेरलाई सम्मान प्रदान गरिएको थियो। उनीहरूको योगदानप्रति कदर व्यक्त गर्दै कार्यक्रमलाई थप गरिमामय बनाइएको थियो।
जब स्टेजमा जगदीश समाल उत्रिए, त्यसपछि माहोल पूर्ण रूपमा सांगीतिक रंगमा रंगियो। उनका मिठा र भावपूर्ण गीतहरूले दर्शकलाई पुराना सम्झनामा डुबायो। हलभरि कहिले ताली, कहिले सँगै गुनगुनाउने आवाज गुञ्जिरहेको थियो।
बीचमा स्थानीय कलाकारहरूको प्रस्तुति र सानो अन्तरक्रियाले कार्यक्रमलाई अझ जीवन्त बनायो। सम्पूर्ण साँझभरि नेपालीपन, आत्मीयता र संगीतको मिठास झल्किरहेको थियो।
विदेशमा रहेर पनि आफ्नै भाषा, संस्कृति र भावनासँग जोडिने यस्तो कार्यक्रमले ओमाहामा बस्ने नेपाली समुदायलाई अझ नजिक ल्याएको अनुभूति सहभागीहरूले व्यक्त गरेका छन्।
