काठमाडौँ । सरकारका प्रमुख पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। सार्वजनिक विवरणअनुसार गृहमन्त्री र प्रधानमन्त्री दुवैको सम्पत्तिमा उल्लेख्य अंश पैतृक स्रोतबाट आएको देखिएको छ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह

प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण पनि सार्वजनिक भएको छ।
उनको व्यक्तिगत नाममा बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको छ, जसको स्रोत सामाजिक सञ्जालमार्फत भएको आम्दानी बताइएको छ।
उनकी पत्नी सविना काफ्लेको नाममा पैतृक रूपमा प्राप्त १९० तोला सुन, चाँदी तथा हिराका गरगहना रहेको उल्लेख छ।
जग्गातर्फ, उनका बुबाको नाममा महोत्तरीमा ९ विघा जग्गा रहेको छ भने
आमाको नाममा काठमाडौंमा ५ आना र धनुषामा १.२ विघा जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ।
गृहमन्त्री सुधन गुरुङ

गृहमन्त्री सुधन गुरुङको नाममा ठूलो मात्रामा शेयर लगानी रहेको देखिएको छ।
उनको कुल शेयर मूल्य करिब ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँ रहेको छ, जसमा धितोपत्र बजारमा कारोबार हुने शेयरमा मात्र २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ लगानी छ।
जग्गातर्फ, धनकुटामा उनको व्यक्तिगत नाममा १९ रोपनी १५ आना जग्गा रहेको छ।
यस्तै, उनका पिता दिलबहादुर गुरुङको नाममा चितवनमा ३० कठ्ठा र बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्री क्षेत्रमा २२१ रोपनी जग्गा रहेको उल्लेख छ।
बैंक मौज्दाततर्फ लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार र नबिल बैंकमा ५६ लाख २५ हजार रुपैयाँ रहेको छ।
साथै, पैतृक सम्पत्तिको रूपमा ८९ तोला सुन र करिब ६ किलो चाँदी रहेको विवरणमा उल्लेख गरिएको छ।
