मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

सञ्चार मन्त्रालयको कडाइ : कर्मचारीका लागि ९ बुँदे आचारसंहिता जारी

Author Image
बुधवार, वैशाख २, २०८३

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मातहत तथा अन्तर्गत निकायमा कार्यरत कर्मचारीहरूका लागि ९ बुँदे आचारसंहिता जारी गरेको छ। मन्त्रालयले बुधबार जारी गरेको आचारसंहितामार्फत कर्मचारीको अनुशासन, सेवा प्रवाह र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

आचारसंहिताको पहिलो बुँदामा संविधान, प्रचलित नीति, कानुन तथा सेवासम्बन्धी नियमहरूको पूर्ण पालना गर्नुपर्ने उल्लेख गरिएको छ। दोस्रो बुँदामा कर्मचारीले तोकिएको समयमा नियमित रूपमा कार्यालयमा उपस्थित हुनुपर्ने र पूर्वस्वीकृति बिना अनुपस्थित हुन नहुने व्यवस्था गरिएको छ।

त्यस्तै, कार्यालयमा रहँदा वा मन्त्रालयको प्रतिनिधित्व गर्दा ड्रेसकोड पालना गर्नुपर्ने, तोकिएको पोशाक लगाउनुपर्ने तथा परिचयपत्र सबैले देख्ने गरी लगाउनुपर्ने उल्लेख छ। कर्मचारीले आफ्नो डेस्क वा प्रणालीमा आएका कामहरू सकेसम्म सोही दिन वा बढीमा भोलिपल्टसम्म सम्पन्न गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

कुनै पत्र, टिप्पणी वा निर्णय प्रक्रिया अघि बढाउने कर्मचारीले त्यसको ट्र्याकिङ, फलोअप तथा प्रगतिको जानकारी सुपरीवेक्षकलाई दिनुपर्ने भनिएको छ। साथै, जिम्मेवारी छिटो, छरितो, पूर्ण र गुणस्तरीय रूपमा सम्पन्न गर्न सधैं तत्पर रहनुपर्ने उल्लेख गरिएको छ।

सेवा प्रवाहका क्रममा वृद्धवृद्धा, अशक्त, अपांगता भएका व्यक्ति, सुत्केरी वा गर्भवती महिला, बालबालिका तथा असहाय नागरिकलाई प्राथमिकता दिनुपर्ने आचारसंहितामा स्पष्ट गरिएको छ।

यसैगरी, कार्यालय परिसर तथा कार्यकक्ष सफा राख्ने, स्रोतसाधनको मितव्ययी र प्रभावकारी प्रयोग गर्ने व्यवस्था पनि समेटिएको छ। मन्त्रालयले आचारसंहिताप्रति कर्मचारीहरूको प्रतिबद्धता समेत लिएको जनाएको छ।