मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

इरानलाई हतियार नदिन ट्रम्पको पत्र

Author Image
बुधवार, वैशाख २, २०८३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हतियार आपूर्ति नगर्न आग्रह गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङलाई गोप्य पत्र पठाएको खुलासा गरेका छन्। ट्रम्पले फक्स टेलिभिजनलाई दिएको अन्तर्वार्तामा आफूले यस्तो आग्रह गरेको र त्यसको जवाफमा सीले चीनले इरानलाई हतियार नपठाएको दाबी गरेको बताएका हुन्।

ट्रम्पका अनुसार उनले सीलाई इरानलाई सैन्य सहयोग नगर्न स्पष्ट सन्देश दिएका थिए। जवाफस्वरूप आएको पत्रमा चिनियाँ पक्षले आफूहरूले त्यस्तो कुनै कदम नचालेको उल्लेख गरेको ट्रम्पले बताए। उनले पत्र कहिले पठाइएको भन्ने खुलाएनन्।

पछिल्लो समय अमेरिकी गुप्तचर संस्थाको हवाला दिँदै चीनले इरानलाई हतियार पठाउने तयारी गरेको समाचारहरू सार्वजनिक भइरहेका छन्। केही दिनअघि मात्रै ट्रम्पले चीनलाई इरानलाई हतियार दिए त्यसको परिणाम गम्भीर हुने चेतावनी दिएका थिए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार काँधबाट प्रहार गर्न सकिने रकेटसहित हवाई प्रतिरक्षा प्रणालीमा प्रयोग हुने केही हतियार इरान पुग्ने तयारीमा रहेको दाबी गरिएको थियो। यसबारे प्रतिक्रिया दिँदै ट्रम्पले भनेका थिए, “यदि चीनले त्यसो गरिरहेको छ भने, त्यो चीनका लागि ठूलो समस्या बन्नेछ।”

यता फाइनान्सियल टाइम्सले इरानले चिनियाँ जासुसी उपग्रह प्रयोग गरेर मध्यपूर्वस्थित अमेरिकी सैन्य संरचनामाथि आक्रमणका लागि सहयोग लिएको दाबी गरेको छ। पत्रिकाका अनुसार चीनले सन् २०२४ को अन्त्यतिर प्रक्षेपण गरेको एक गोप्य उपग्रह इरानी सेनाले प्रयोग गरेको खुलासा भएको हो।

चुहिएका इरानी सैन्य कागजात, उपग्रह तस्बिर र कक्षीय विश्लेषणका आधारमा उक्त उपग्रहलाई अमेरिकी सैन्य स्थलहरूको निगरानीमा प्रयोग गरिएको बताइएको छ। ड्रोन तथा मिसाइल आक्रमणअघि र त्यसपछि ती क्षेत्रका तस्बिरहरू खिचिएको दाबी समेत गरिएको छ।

यस घटनाक्रमले अमेरिका–चीन सम्बन्धमा थप तनाव सिर्जना गर्ने संकेत देखिएको छ भने मध्यपूर्वको सुरक्षा अवस्थाबारे नयाँ चिन्ता समेत बढाएको छ।

 (विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)