मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

प्रचण्डको फेरियो बोली, चुनाव र संसद् विघटनबाट पन्छिए

Author Image
बिहिवार, वैशाख ३, २०८३

पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटन र निर्वाचन आफ्नो एजेन्डा नभएको दाबी गरेका छन्। यसअघि संविधान जोगाउन आफूले भूमिका खेलेको बताउँदै आएका प्रचण्डले बिहीबार पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकमा पुराना अभिव्यक्ति सच्याएका हुन्।

बैठकमा नेताहरूले जेनजी आन्दोलनपछि पार्टीको पक्षमा माहोल नबन्दा पनि किन चुनावमा गएको भन्दै नेतृत्वको आलोचना गरेका थिए। फागुन २१ गते सम्पन्न निर्वाचनमा नेकपाले जम्मा १७ सिट जितेको थियो, जसमा प्रमुख नेतामध्ये प्रचण्ड र वर्षमान पुन मात्रै विजयी भएका थिए।

प्रचण्डले राष्ट्रपतिको प्रस्तावपछि बाध्य भएर निर्वाचनमा समर्थन गरेको बताएका नेता देवेन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार प्रचण्डले संसद् विघटन पनि आफ्नो कारणले नभई राष्ट्रपति रामचन्द्र पौडेलले निकासका लागि प्रस्ताव गरेपछि समर्थन गरिएको बताएका हुन्।

बैठकमा उनले पार्टी रूपान्तरणसहित बृहत् वामपन्थी एकताको आवश्यकता पनि औंल्याए। पहिले महाधिवेशनमार्फत पार्टी बलियो बनाएर मात्रै ध्रुवीकरण र एकतामा जानुपर्ने उनको भनाइ थियो। सहसंयोजक माधवकुमार नेपालले पनि हतारमा निर्णय गर्न नहुने धारणा राखेका थिए।

बैठक स्थगित गरिएको छ भने अर्को बैठक शनिबार बिहान ११ बजे बस्ने जनाइएको छ। त्यस बैठकले नेताहरूको कार्यविभाजन र आगामी कार्यक्रम तय गर्नेछ।