
काठमाडौं उपत्यकामा वैशाख १ गतेदेखि सुरु गरिएको रात्रिकालीन बस सेवाले प्रारम्भिक चरणमै उत्साहजनक प्रतिक्रिया पाएको छ। सेवा सञ्चालनको पहिलो दिनमै ४५० भन्दा बढी यात्रुले यात्रा गरेको साझा यातायातले जनाएको छ।
राति ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने यो सेवा हाल बुढानीलकण्ठ–लगनखेल र एयरपोर्ट–थानकोट रुटमा परीक्षण स्वरूप सञ्चालनमा ल्याइएको हो। साझा यातायातका सहायक प्रबन्धक जनक रिसालका अनुसार सेवा सुरु भएको छोटो समयमै अपेक्षाभन्दा राम्रो सहभागिता देखिएको छ।
उनका अनुसार हाल धेरै यात्रुलाई यस सेवाबारे पूर्ण जानकारी नभएकाले आगामी दिनमा यात्रु संख्या अझ बढ्ने अपेक्षा गरिएको छ। “एक साताको तथ्यांक संकलनपछि विस्तृत मूल्यांकन सार्वजनिक गर्छौं,” उनले बताए।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार हालसम्म सेवा सञ्चालनमा कुनै ठूलो समस्या देखिएको छैन। “हामीले पाएको जानकारीअनुसार यात्रु अभावको अवस्था छैन,” उनले भने, “ढिला भए पनि यात्रु आइरहेका छन्, र तत्कालका लागि आर्थिक रूपमा पनि सेवा सञ्चालनमा समस्या देखिँदैन।”
विद्युतीय बस प्रयोग भएकाले सञ्चालन खर्च तुलनात्मक रूपमा कम रहेको र दिनको नियमित सेवा मार्फत आम्दानी व्यवस्थापन गरिँदै राति सेवा विस्तार गरिएको साझा यातायातले जनाएको छ।
महानगरपालिकाले प्रारम्भिक रूपमा तीन महिनासम्म सेवा परीक्षण गर्ने योजना बनाएको छ। यात्रु संख्या न्यून भए पनि सेवा नरोकिने स्पष्ट गरिएको छ। आवश्यक परे बजेट व्यवस्थापन गरी निरन्तरता दिने र असारपछि अन्य रुटमा विस्तार गर्ने तयारी पनि गरिएको छ।
यात्रुको सुरक्षा सुनिश्चित गर्न प्रत्येक बसमा नगर प्रहरी खटाइएको छ भने चारवटा सिसिटिभी क्यामेरा जडान गरिएको छ। साझा यातायातको नियन्त्रण कक्षबाट प्रत्यक्ष निगरानी गरिन्छ।
साथै, यात्रुहरूले मोबाइल एपमार्फत बसको रुट, लोकेसन र आगमन समयबारे जानकारी लिन सक्ने व्यवस्था गरिएको छ। सेवा सुरक्षामैत्री र प्रविधिमैत्री बनाइएकाले आगामी दिनमा यसको प्रयोग अझ बढ्ने अपेक्षा गरिएको छ।
