मङ्गलवार, कार्तिक ११, २०८३
Global Bhutanese News

लगानी बोर्डमाथि वाग्ले आक्रोश

Author Image
मङ्गलवार, वैशाख ८, २०८३

अर्थमन्त्री स्वर्णिम वाग्लेले लगानी स्वीकृत भएका ५५ आयोजनामध्ये २ वटा मात्रै निर्माण चरणमा पुग्नु लाजमर्दो अवस्था भएको भन्दै कडा असन्तुष्टि जनाएका छन्।

उनकै अध्यक्षतामा बसेको लगानी बोर्डको अनुगमन तथा सहजीकरण समितिको १३ औँ बैठकमा वाग्लेले विदेशी लगानी स्वीकृत भएर पनि लामो समयसम्म काम अघि नबढ्नु गम्भीर विषय भएको बताए।

उनले आयोजनाहरू रोकिनुका कारण तत्काल पहिचान गर्न निर्देशन दिँदै जिम्मेवार पक्ष जो भए पनि छानबिन गरेर आवश्यक परे परिवर्तन गर्नुपर्ने बताए। समस्या के हो स्पष्ट गरेर समाधानसहित अघि बढ्न उनले जोड दिए।

अर्थमन्त्रीले आगामी १४ औँ बैठकसम्म ठोस प्रगति नदेखिए निर्मम समीक्षा गरिने चेतावनी दिएका छन्। कम्तीमा १० वटा परियोजनामा तत्काल प्रगति देखिनुपर्ने भन्दै लगानी सहजीकरण गर्ने निकाय कमजोर देखिँदा गलत सन्देश गएको उल्लेख गरे।

केही ‘फेन्सी आयोजना’बारे पुनर्विचार गर्नुपर्ने संकेत पनि उनले गरेका छन्।

प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले देशको भविष्यसँग जोडिएका आयोजना दयनीय अवस्थामा रहेको टिप्पणी गरे। उनले कुन निकाय, कुन व्यक्ति र किन समन्वय हुन सकेन भन्ने विषय अब निगरानीमा राखिने बताए।